लमजुङका किसानको गुनासो : बजारमा मल छैन, खेतमा मकै ‘बुडिसक्यो’, गोड्न पाएको छैन

 बैशाख २३, २०७९ शुक्रबार १९:४९:५५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ७ कुमालटारका विजय गुरुङले तीन रोपनी बढी जग्गामा मकै खेती गर्नुभएको छ । मजुवा फाँटमा मकै लगाउनुभएका उहाँले एकोहोरो मकै गोडिसक्नुभएको छ । पन्ध्र दिनअघि नै खेतमा दोहोरो मकै गोडिसक्नुपर्ने हो । तर रासायनिक मल (युरिया मल) को अभावमा उहाँले अहिलेसम्म दोहोरो मकै गोड्न पाउनुभएको छैन ।

मलको अभावमा समयमै मकै गोड्न नपाउँदा दुःख गरी लगाएको मकै उत्पादन घट्नेमा उहाँ चिन्तित हुनुहुन्छ । ‘विगतमा स्थानीय कृषि सहकारी, विभिन्न सङ्घ–संस्थाले मल बेच्थे, समयमै मल पाइन्थ्यो, मकै गोड्न पाइन्थ्यो । अहिले खेतमा मकै बुडिसकेको (मकै वरिपरि धेरै झार आउनु) छ । दोहोरो गोड्न पाइएको छैन । समस्या भएको छ । उत्पादन घट्ने चिन्ता छ’, गुरुङले भन्नुभयो ।      
उहाँको मात्र होइन, अहिले लमजुङका प्रायः सबै किसानले मल नपाउँदा भोग्नुपरेको समस्या उही र उस्तै छ । 

मलको अभावले समय घर्किदासमेत छविसे फाँटमा लगाएको मकै दोहोरो गोड्न नपाएको अर्का किसान राइनास नगरपालिका ८ हर्राबोटका प्रकाश श्रेष्ठले बताउनुभयो । ‘दुई रोपनी जग्गामा मकै लगाएको छु । मल पाइएको छैन । समयमै मकै गोड्न पाएको छैन । सारै समस्या भएको छ’, उहाँले भन्नुभयो, ‘समयमै मल राखी मकै गोड्न नपाउँदा मकैको बोट पहेँलो हुँदै जाने, घोगा नहाल्नेजस्ता समस्या हुन्छ ।’

लमजुङमा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । उहाँका अनुसार युरिया मल नपाउँदा चैते धान र दोहोरो मकै गोड्न किसानलाई समस्या भएको छ । समयमै मल राखी मकै गोड्न नसकेमा उत्पादकत्व घट्ने उहाँले बताउनुभयो । 

मलको अभाव खेपिरहेका स्थानीय किसानलाई मध्यनजर गर्दै लमजुङको सुन्दरबजार नगरपालिका ७ पाउँदीमा श्रेष्ठ एग्रो सेन्टरका सञ्चालक अमृत श्रेष्ठले विभिन्न मल ल्याएर वितरण गर्दै आउनुभएको छ । मल लिन लमजुङको सुन्दरबजार, राइनास नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिकासँगै तनहुँको भानु नगरपालिका लगायतका ठाउँबाट किसान आउने गरेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया