कांग्रेस प्रवक्ताकाे दाबी : ओलीले जनतामा गएर मत माग्ने कुनै आधार छैन

 बैशाख २६, २०७९ सोमबार १३:४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गर्नुभएको छ । प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र देशकाे विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उहाँलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताउनुभएको हो । 

आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारूढ गठबन्धन सँगसँगै अघि जाने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले सत्ता गठबन्धनमा आबद्ध अन्य दलहरूले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको बताउनुभयो । 

प्रवक्ता महतले भन्नुभयो, ‘केपी ओली सबै कोणबाट असफल भइसकेका छन् । अब के मुखले उहाँले भोेट माग्ने ? पाँच वर्षका लागि निर्वाचित सरकारले साढे तीन वर्षमै दुई पटक हात उठायो । उहाँले बरबाद गरेपछि सरकारकाे नेतृत्व कांग्रेसले लिनुपर्‍याे । अब हामीले गठबन्धनलाई अगाडि बढाऔँ । यद्यपि उहाँले यो रहँदैन, चल्दैन भन्नुभएको छ । हो, उहाँ त अवश्य पनि नचलोस् भन्ने चाहनुहुन्छ । कांग्रेस लोकतन्त्रलाई बलियो पार्न, संविधानलाई बलियो पार्नका लागि यो सहयात्रा गर्न तयार छ । हामीलाई विश्वास छ, हाम्रा सहयात्री दलहरू ओलीतिर जानु हुन्न ।

प्रवक्ता महतले चुनावकाे सिलसिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लामा आफ्ना पार्टीका कार्यकर्तामाथि आक्रमण भएकाे भन्दै आपत्ति जनाउनुभयो । उहाँले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो । 

प्रवक्ता महतले नेपाली कांग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव प्रचारमा गएकाले उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्न नमिल्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया