वैदेशिक राेजगारी : बाध्यताले न दशैँ-तिहार भन्छ, न त चुनाव नै !

 बैशाख २९, २०७९ बिहिबार १८:३३:२२ | बेदानन्द जाेशी
unn.prixa.net

पाँच वर्षपछि पालिका तहको चुनाव आएको छ । पाँचै वर्षपछि वैदेशिक रोजगारीबाट चितवन रत्ननगरका रामजित महतो पनि घर फर्किनुभयो । चुनावकै बेला छुट्टी मिलाएर उहाँ तीन महिना पहिले घर आउनुभएको हो । तर बाध्यता यस्तो आइलाग्यो, चुनाव मुखैमा छाडेर फेरि साउदी फर्किनुपर्ने भयो । साउदी जान त्रिभुवन विमानस्थल पुग्नुभएका उहाँको आफ्नै बाध्यता छ ।

‘भोट हाल्न पाउँछु भनेर नै मैले यही समय पारेर बिदा मिलाएको थिएँ, नत्र त दशैँमा आउने विचार थियो’, सोमबार विमानस्थलमा भेटिनुभएका उहाँले भन्नुभयो, ‘चुनाव चाँडो हुन्छ कि भन्ने सोचेको थिएँ तर भएन, भिसाको म्याद सकिसक्यो । उताबाट कम्पनीले गाली गर्न थाल्यो, त्यसैले जानै पर्ने भयो ।’ 

स्थानीय राजनीति, गाउँघरको विकास, सामाजिक कार्यमा अघि सर्ने रामजितलाई बाध्यताले परदेशी बनायो । उहाँ साउदीको रोजगारीमा जान थालेको ९ वर्ष भयो । मिल्यो भने कहिलेकाहीँ छुट्टीमा घर फर्किनुहुन्छ । लामो समयपछि यसपालि चुनावको मौकामा घर आउनुभएको थियो । तर यहाँ तीन महिना बस्दा पनि भोट दिन पाउनुभएन । उहाँलाई यो कुराले पिरोल्छ । सायद साउदी पुगेपछि पनि यही कुराले घोचीरहनेछ । यतै बसेर भोट हालौँ भने परदेशको जागिर गुम्ने, परदेश जाँदा, भोट हाल्ने अवसर गुम्ने । आफूलाई अग्निपरीक्षामा उभ्याएर अन्तिममा उहाँले  साउदी नै फर्किने निधो गर्नुभयो ।

‘परिवार हुन्छ, अनि भविष्य हुन्छ, बल्ल भोट हुन्छ’, विमानस्थलको यात्रु प्रवेश गर्ने गेटभित्र छिर्दै भन्नुभयो, ‘गाउँलेलाई, परिवारलाई सम्झाएर आएको छु, हाम्रो हाेइन राम्राे मान्छेलाई उहाँहरुले जिताउनुहुन्छ ।’

चितवनका रामजित जस्तै खोटाङका चन्द्रबहादुर तिमल्सिनालाई पनि चुनावको संघारमै परदेशिनुपर्ने भयो । छुट्टीमा यूएईबाट घर आउनुभएका चन्द्रबहादुर चुनावी भेलामा सहभागी हुनुभयो । गाउँविकासका मुद्दामा छलफल गर्नुभयो । राम्रो उम्मेदवारलाई अघि सार्न प्रयास पनि गर्नुभयो । तर जब भोट हाल्ने दिन नजिकियो चन्द्रबहादुरको छुट्टीको अवधि पनि सकियो । गह्रौं पाइला सार्दै त्रिभुवन विमानस्थल पुगेका चन्द्रबहादुुरलाई चुनावको बेला देश छोड्नुपर्दा साह्रै नरमाइलो लागेको छ । 

‘कहिलेकाहीँ दशैँतिहारमा पनि यस्तै आइपर्छ, अहिले पनि चुनावकै बेला यसरी विदेश जानुपरेको छ, साह्रै खल्लो लागेको छ’, भुइँमा राखेको झोला काँधमा भिर्दै भन्नुभयो, ‘आफ्नो प्रतिनिधि चुन्ने अवसर हो यो, तर के गर्ने, बाध्यताले परिवारसँग त बस्न दिएन, भोट हाल्नु त झन् परको कुरा ।’ 

यति भनिरहँदा उहाँका आँखा आँसुले भरिए । आँखाभरि छचल्किएका आँसुमा अब आउने जनप्रतिनिधिबाटको एउटै अपेक्षा झल्किन्थ्यो, ‘पेट पाल्न परदेश जानैपर्ने बाध्यताको अन्त्य ।’

यो चुनाव आफ्नो अमूल्य भोटको प्रयोग गरि योग्य जनप्रतिनिधि चुन्ने अवसर पनि हो । तर आफूलाई चित्त बुझेका उम्मेदवारलाई भोट हाल्ने दिन मुखैमा आउँदा पनि यसरी देश छोड्नुपर्ने बाध्यता छ धेरैलाई । चन्द्रबहादुर र रामजितको समस्या वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीको साझा समस्या हो । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन यसअघि नै आदेश दिइसकेको हो । तर यसको कार्यान्वयन हुन नसक्दा विदेशमा रहेका लाखौं नेपाली भोट दिनबाट बञ्चित भएका छन् । उनीहरु भन्छन्, हामीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चल्छ तर भोट किन चल्दैन ? विदेशबाटै भोट हाल्ने व्यवस्था नहुँदा परदेशीले भोट हाल्न पाउने संवैधानिक अधिकार र योग्य प्रतिनिधि चुन्ने अवसर गुमाएका छन् ।  

खोटाङ दिक्तेलका रमेश विश्वकर्माले पनि यही व्यवस्था नहुँदा मताधिकारको आफ्नो अधिकार प्रयोग गर्न पाउनुभएन । एक दशकदेखि वैदेशिक रोजगारीमा रहनुभएका रमेशले योभन्दा पहिलेको पालिका तह र संविधान सभाको चुनावमा त भोट हाल्न पाउनुभएको थियो । यसपटक पनि हाल्न पाइन्छ कि भन्ने आशामा रहनुभएका उहाँ भिसाको म्याद सकिन लागेपछि दुई दिन पनि पर्खिन सक्नुभएन । 

‘मुखैमा आएको चुनाव छाडेर जानुपर्दा नरमाइलो लागेको छ, विदेशबाटै भोट हाल्न पाउने व्यवस्था भएको भए अहिले देश छोड्दै गर्दा मेरो मन यति दुख्दैनथ्यो होला’, दुबई जान त्रिभुवन विमानस्थल पुग्नुभएका रमेशले भन्नुभयो, ‘अहिलेको जस्तो टेक्नोलोजीको समयमा जे पनि गर्न सकिन्छ, अरु देशका नागरिकले विश्वको जुनसुकै कुनाबाट पनि भोट हाल्न सक्छन्, नेपालीले किन सक्दैनन् ?’

परदेशबाट फर्किनेहरु

चुनावको मुखैमा रोजगारीको लागि परदेश जानेहरुका आ आफ्नै बाध्यता छन् । तर यहिबेला वैदेशिक रोजगारीबाट फर्किनेहरु पनि छन् । चुनावको मुखैमा छुट्टीमा नेपाल फर्किन पाउँदा आफूलाई भाग्यमानी ठान्नुहुन्छ, दाङका वीरबहादुर गिरि । वीरबहादुर मलेसियाबाट बिदामा आउनुभएको हो । एउटा ठूलो सुटकेस र पिठ्युँमा झोला भिरेर त्रिभुवन विमानस्थल प्रांगणमा ट्याक्सीको लागि पर्खिरहनुभएका वीरबहादुर हतारमा हुनुहुन्छ । उहाँलाई भोट हाल्ने दिनसम्म दाङ पुग्नु छ । 

‘जे होस् भोट हाल्ने टाइममै नेपाल आउन पाइयो । यो हाम्रो सौभाग्य हो’, आफूसँगै मलेसियाबाट आउनुभएका दुईजना साथीतर्फ हेर्दै भन्नुभयो, ‘चुनावको बेला आउन त आइयो हेर्नुस्, भोट हाल्न पाइने हो कि होइन । गाडीले पुर्‍यायो भने भोट हालिन्छ । आफ्नो अधिकारको प्रयोग त गरिन्छ ।’

यस्तै यूएई आबुधाबीबाट फर्किनुभएका प्युठानका राजु नेपाली पनि चुनावमा आउन पाएकोमा खुसी त हुनुहुन्छ । तर आफूसँग भोटर आईडी कार्ड अर्थात् मतदाता परिचयपत्र नहुँदा भोट हाल्न पाइने होइन कि भन्ने चिन्ता छ उहाँलाई । वैदेशिक रोजगारीको व्यस्तताले उहाँलाई भोटिङ कार्ड बनाउने समय नै जुरेन । कहिले गाउँ छाडेर सहरतिर व्यस्त हुनुभयो । कहिले देश छोडेर विदेशतिर । घरपरिवारको जिम्मेवारी र आफ्नै भविष्यको चिन्ताले चुनावको अर्थ, भोटिङ कार्डको महत्वतर्फ ध्यान नै गएन । अहिले चुनावको समय र छुट्टीको समय सँगै परेको छ तर राजुसँग मतदाता परिचयपत्र छैन । 

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउने जनाएको छ । तर मतदाता परिचयपत्र नै नहुँदा भोट हाल्न मिल्ने हो कि नाइँ । राजुलाई खुल्दुली लागेको छ । भोट दिन पाइहाल्यो भने हाम्रो भन्दा पनि राम्रो उम्मेदवार हेरेर मात्र भोट हाल्ने उहाँ बताउनुहुन्छ ।

‘पहिलेको अध्यक्ष मेयरहरुलाई हेरिसक्यौँ, सबै गलत छन् भन्ने पनि होइन तर धेरैले अझै पनि जनताको घरदैलोमा सेवा पुर्‍याउन सकेका छैनन्, आफ्नै पार्टीको झण्डा बोकेर हिँड्छन्’, उहाँले भन्नुभयो, ‘अब पनि त्यस्तै उम्मेदवारलाई जिताएर के काम । भिजन भएको, केही गर्छु भन्ने, रोजगारीका योजना भएकाहरुलाई पो छान्ने हो त ।’

आफूसँग भोटर कार्ड नभए पनि कस्तो व्यक्तिलाई भोट हाल्नुपर्छ भन्ने कुरामा भने राजु ढुक्क हुनुहुन्छ । ट्रलीको सामान ट्याक्सीमा राख्दै भन्नुभयो, ‘मैले भोट हाल्न पाए ठिकै छ, नत्र परिवारको मान्छेलाई त सम्झाउन सकियो नि ।’
 

अन्तिम अपडेट: जेठ ४, २०७९

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया