मतदानमा नागरिकको उत्साहजनक सहभागिता, भन्छन् 'दल, उम्मेदवारले हामीसँग गरेका वाचा नभुलुन्'

 बैशाख ३०, २०७९ शुक्रबार १२:५४:५७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - पञ्चायतकालदेखि अहिलेसम्मका सबै चुनावमा भोट हालेको अनुभव छ, लमजुङ दोर्दी-१ ढोकेका ७८ वर्षका जङ्गबहादुर थापासँग । चुनावका बेला दल तथा उम्मेदवारहरुले नमस्कार गर्दै अनेकन सपना देखाउँदै नागरिकको घर आँगनमा आउने गरेको तर चुनावपछि उनीहरुले देखाएका सपना बिर्सिने गरेको तितो अनुभव पनि उहाँको मन, मष्तिष्कमा छ । 

‘हरेक चुनावमा भोट हालिएको छ । चुनावमा नमस्कार गर्दै आउँछन् । पछि जनतालाई चिन्दैनन्’ उहाँले निराशा पोख्नुभयो । चुनावका बेला नागरिकमाझ दल, उम्मेदवारहरुले गरेका वाचा नभुलिदिए हुन्थ्यो भन्ने उहाँको चाहना छ ।

‘गाउँठाउँको विकास गरुन् । हामी जस्ता वृद्धवृद्धालाई पनि हेरुन्’ पालिका चुनाव २०७९ मा कर्मोदय प्रावि मतदान केन्द्रमा भोट खसाल्नु भएका थापाले भन्नुभयो, ‘अब चुनाव जितेपछि पनि दल उम्मेदवारले हामीमाझ गरेका वाचा नभुलुन् । पार्टी नहेरि विकास गरुन् ।’ 

यस्तै, पञ्चायतकाल, जनमत सङ्ग्रह २०३६ र अहिलेको पालिका चुनावसम्म मतदान गरेको अनुभव छ, दोर्दी-१ बेलघारिकै टीकामान श्रेष्ठलाई पनि । तर चुनावपछि जनहितमा खासै काम हुन नसकेको उहाँको बुझाइ छ । नागरिकका खासै ठूला चाहना र सपना नरहेका बताउँदै उहाँले स्थानीय सरकारका सेवा र सुविधा नागरिकलाई सरल सहज रुपमा प्रदान गर्नुपर्नेमा उहाँको जोड छ । 

‘नागरिकका खासै ठूला सपना छैनन् । खान, लाउन देउ भनेका छैनन्’ उहाँले भन्नुभयो, ‘नागरिकलाई सरल, सहज रुपमा सेवा दिउन् । गाउँठाउँको विकास होस् ।’

जिल्लामा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले जानकारी दिनुभयो । जिल्लाका १२३ मतदान स्थल र १८२ मतदान केन्द्रमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया