जुम्ला कनकासुन्दरी – ८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

 जेठ १, २०७९ आइतबार १६:४:५७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – पालिका तहको चुनावमा दलीय राजनीतिलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिँदै आएका छन् । यसै क्रममा जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको पूरै प्यानल विजयी भएको छ । 

दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारेका थिए । तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । संघीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै उनीहरुले दलको टिकट लिएनन् ।

धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी काग्रेसका कप्तानबहादुर शाही दुई सय २० मत ल्याएर पराजित हुनुभयो । वडा सदस्यमा गोल दमाई र कर्णजित सार्कीले जित्नुभयो । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्लेले जित्नुभयो ।

यस्तै दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय हुनुभयो । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् । एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । अहिले त्यहाँको दलित बस्तीमा खुसीयाली छाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया