गोरखा हुँदै चीन जोड्ने सडकखण्डको माछाखोलामा बेलीब्रिज निर्माण, प्रधानसेनापतिद्वारा उद्घाटन

 जेठ ५, २०७९ बिहिबार १५:३६:५४ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखा हुँदै चीन जोड्ने सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका ५ को माछाखोलामा बेलिब्रिज निर्माण गरिएको छ । नेपाली सेनाले करीव २ करोड रुपैयाँ खर्चमा १ शय २० फीट लामो बेलीब्रिज जडान गरेको हो ।

पुलको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभएकाे हाे । उद्घाटन कार्यक्रममा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ शर्मा, सडक विभागका महानिर्देशक शिवप्रसाद नेपाल लगायतको सहभागिता रहेको थियो । पुल उद्घाटनसँगै उक्त टोलीले सडक निर्माणको अवस्थाको हेलिकप्टरबाट निरीक्षण गरेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाटबाट गोरखाको आरुघाट हुँदै तिब्बतको सीमा क्षेत्रसम्म सडक निर्माण भैरहेको छ । सो सडकखण्ड अन्तर्गत लापूको हावाडाँडाबाट  नेपाली सेनाले गोरखाको उत्तरी क्षेत्र हुँदै चीनको सीमासम्म सडकको ट्रयाक निर्माण गरिरहेको छ ।

सेनाले हालसम्म साढे ३२ किलोमिटर ट्रयाक निर्माण पूरा गरेको सडक निर्माण कार्यदलका मेजर इन्जिनियर विनोद भट्टले जानकारी दिनुभयो । चीनको सीमाको लार्के भञ्ज्याङसम्मको सडकको लम्बाई करीव १ सय किलोमिटर हुने अनुमान गरिएको छ । सीमासम्म पुग्नका लागि अझै करीव ६५ किलोमिटर ट्रयाक निर्माण बाँकी छ । स्रोत साधन र जनशक्तिको अभाव नभए अबको २ वर्षमा लार्केभञ्ज्याङसम्मै ट्रयाक निर्माण गरिसक्ने सेनाको लक्ष्य रहेको छ । नेपाली सेनाले २०७४ सालदेखि सडक निर्माणको जिम्मा लिएको हो ।

तस्बिर:नेपाली सेना

अन्तिम अपडेट: बैशाख १०, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया