जर्जियाको एक स्की रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाक...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आन्तरिकसँगै बाह्य मुख्य तीन कारणले देशकाे आर्थिक स्थितिमा समस्या आएको बताउनुभएकाे छ । संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
मन्त्री शर्माले कोभिड–१९ (काेराेना भाइरस) को प्रभाव, बेमौसमी वर्षा र रुस–युक्रेनबीचकाे द्वद्वकाे प्रभावले नेपालकाे अर्थतन्त्रमा समस्या आएको बताउनुभयो । उहाँले विभिन्न समस्याका बाबजुद पनि चालु आर्थिक वर्षमा ५ दशमलव ८४ प्रतिशतको आर्थिक वृद्धि दर हासिल हुनेमा खुसी मान्नुपर्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सात प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिए पनि विविध समस्याले गर्दा लक्ष्य भेट्ने स्थिति नरहेको तर सबै मिलेर आर्थिक सुधारमा, उत्पादनमा केन्द्रित हुने हो भने आकर्षक आर्थिक वृद्धि दर हुनेमा कुनै द्विविधा छैन । अहिलेको मुख्य चुनौतीको विषय आयात नै रहेको छ, कसरी हुन्छ उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने उद्देश्यमा सरकार लागेको छ । आफ्नै खेतबारीमा उत्पादन हुने कृषिजन्य उत्पादनसमेत आयात भइरहेको छ, अब यस्तो आयातलाई कम गर्दै उत्पादनमा जोड दिने गरी सरकार अघि बढेको छ ।’
अर्थमन्त्री शर्माले सरकारले बनाएका योजना समयमै कार्यान्वयन गरेर जवाफदेही भए आर्थिक वृद्धि तीव्र गतिमा अगाडि बढ्ने सम्भावना रहेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘सरकारले सही नीति बनायाे, जिम्मेवार भयाे, बनाएका नीतिबारे सबै जवाफदेही भयौँ भने नेपालको आर्थिक वृद्धि तीव्र गतिमा अगाडि बढ्ने सम्भावना छ । हाम्राे गार्हस्थ्य उत्पादन, पुँजी निर्माण पनि अझ तीव्र गतिमा अगाडि बढ्ने सम्भावना छ । अहिले धेरै समस्याका बाबजुद पनि अघिल्लो आर्थिक वर्षमा २५ हजार तीन सय वटा कम्पनी दर्ता भएका थिए । तर चालु आर्थिक वर्षको वैशाखसम्ममा २६ हजार सात सय ५० वटा कम्पनी पुगेका छन् ।’
मन्त्री शर्माले एमाले सांसद् योगेश भट्टराईले बजेटको सिद्धान्त तथा प्राथमिकता कसको सिद्धान्तको हो भन्ने प्रश्नको जवाफ दिँदै आफूले ल्याएको सिद्धान्त फुकुवानको सिद्धान्त नभएको बताउनुभयो । उहाँले आफूले ल्याएको सिद्धान्त नेपाली जनताले विकसित गरेको नेपालीहरूको मौलिक सिद्धान्त, नेपाली राजनीतिक पार्टीहरू, नेताहरूले संश्लेषण गरेको मौलिक सिद्धान्तको आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशी, समानुपातिक लोकतन्त्रको सिद्धान्तमा आधारित भएको दाबी गर्नुभयो ।
अर्थमन्त्री शर्माले पालिकासम्म कालोपत्र गर्ने योजनाको फुकुवा आफू अर्थमन्त्री भएपछि गरेको दाबी गर्नुभयो । अघिल्लो सरकारले योजनामा सहयोग गर्ने दाता हुँदा समेत सङ्घीय सरकार वा प्रदेश सरकार कसले गर्ने विवाद गरेर राखिएको काम आफूले प्रदेश सरकारलाई गर्न दिएको मन्त्री शर्माले बताउनुभयो । उहाँले अहिले आफू विगतका सरकारले गरेका राम्रा योजना खोजेर कार्यान्वय गर्ने काम गरेको तर राम्रा योजना कटौती नगरेको बताउनुभयो ।
मन्त्री शर्माले अब सरकारले पुँजीगत खर्च बढाउनका लागि विकास निर्माणको टेन्डर पैसामा नभएर समयमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयाे । उहाँले अहिलेसम्म पैसामा प्रतिस्पर्धा गराएकाले समयमा काम सम्पन्न र गुणस्तर नभएको दाबी गर्नुभयो ।
मन्त्री शर्माले अहिले चालु खर्चलाई धान्ने स्रोत पनि सङ्कलन भएको राजस्वबाट मुस्किलले धान्ने गरेको बताउनुभयो । उहाँले सानो आकारको पुँजीगत खर्चमा बजेट छुट्याउने त्यसमा पनि विगतका आयोजनाको दायित्व चार गुणा बढी रहेको बताउनुभयो । मन्त्री शर्माले विगतका आयोजनाको दायित्व धेरै भएकाले आउँदाे बजेटमा नयाँ योजना राख्ने कल्पना गर्न नसकिने अवस्था रहेको बताउनुभयो । उहाँले बजेटको सीमाभित्र मात्रै काम गर्न खोज्दा त्यसबाट गुणात्मक विकास सम्भव नभएको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।