शपथ खाएकै दिन गाउँपालिका अध्यक्षद्वारा प्रशासकीय भवन निर्माणको ठेक्का रद्द गर्ने निर्णय

 जेठ ८, २०७९ आइतबार १९:४०:४१ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखाको गण्डकी गाउँपालिकाले प्रशासकीय भवन तथा वडा नम्बर ६ र ८ को वडा कार्यालय भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रद्द गरेको छ । पालिकाले आज आइतवार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै गएकाे वैशाख ९ गते प्रकाशित सूचनाअनुसारकाे ई–बिडिङ प्रक्रिया रद्द गरिएको जनाएको हो । जेठ ६ गतेको बैठकको निर्णयअनुसार अहिलेलाई ठेक्का प्रक्रिया रद्द भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि ढकालले बताउनुभयो । 

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दीपक तिमिल्सनाले शपथ ग्रहण गरेकै दिन ठेक्का प्रक्रिया रद्द गराउने निर्णय गराउनुभएको हो । भवन निर्माणका लागि प्राप्त प्रस्तावहरू भाेलि साेमवार खुलाउने तयारी गरिएको थियो । 

गण्डकी गाउँपालिकाको केन्द्रका विषयमा विवाद रहँदै आएको छ । अर्को ठाउँमा पालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा गएकाे आर्थिक वर्षको गाउँ सभाले नीति, कार्यक्रम र बजेट पास गर्न सकेको थिएन । केन्द्रसम्बन्धी विवाद प्रक्रियागत रूपमा समाधान गर्ने दलीय सहमतिअनुसार गाउँ सभा सम्पन्न भएको थियो ।

गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले भने भवन निर्माणका लागि स्रोत सुनिश्चित नभएकाले तत्कालका लागि ठेक्का प्रक्रिया रद्द गरिएको बताउनुभयो । पालिकाको केन्द्रका विषयमा पनि आउँदाे गाउँ सभा र कार्यपालिकामा छलफल हुन सक्ने उहाँकाे भनाइ छ । ‘प्रशासनिक सुगमता हेरेर नयाँ ठाउँमा पालिकाको केन्द्र रहन सक्छ तर यसबारे गाउँ सभाले गरेको निर्णयलाई मानेर अघि बढ्ने हो’, तिमिल्सिनाले भन्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाकाे नामाङ्कन र सीमाङ्कन गर्ने क्रममा गण्डकी गाउँपालिकाको केन्द्र साविकको भूम्लीचोक गाविसको कार्यालयमा रहने भनी निर्धारण गरेको थियो । कुनै पालिकाकाे नाम र केन्द्र हेरफेर गर्नुपर्दा चुनाव भएको ६ महिनाभित्र सामान्य बहुमतले र त्यसपछि दुई तिहाइ बहुमतबाट पारित गरी प्रदेश सरकार हुँदै सङ्घीय सरकारको मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ । आउँदाे गाउँ सभामा यसबारे छलफल हुने र सकेसम्म सहमति जुटाएर काम अघि बढाउने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले ओखलडाँडामा प्रशासकीय भवन बन्न नसके स्थानीयवासीले दिएको जग्गालाई वडा कार्यालय भवनसहित शहीद पार्क, खेलकुद मैदान लगायतका संरचना निर्माणमा उपयोग गर्न सकिने बताउनुभयो । गाउँ सभाले त्यही ठाउँ छनाेट गरेमा भने स्रोत जुटाएर छिट्टै नयाँ ठेक्का प्रक्रिया सुरु गरी भवन निर्माण कार्य अघि बढाउने उहाँको भनाइ छ ।

अहिले केन्द्र रहेको भूम्लीचोकको ओखलडाँडामा प्रशासकीय भवन र वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण गर्ने गरी विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । त्यसका लागि स्थानीयवासीबाट झन्डै आठ रोपनी जग्गा उपलब्ध भएको छ । वडा नम्बर ८ को कार्यालय भवनसमेत गरी प्याकेजमै ठेक्का आह्वान गरिएको थियो । तीन वटै भवन निर्माणका लागि झन्डै १२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया