केही ठाउँमा स्वतन्त्र उम्मेदवारले जित्दैमा राजनीतिक दलहरू नै सकिए भन्न मिल्दैन : महत

 जेठ ९, २०७९ सोमबार १७:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रवक्ता महतले काठमाण्डाैमा राजनीतिक दल पराजय उन्मुख हुनु नेकपा एमालेले पाँच वर्षमा गरेका कामहरूकाे कर्तुत भएको जिकिर गर्नुभएकाे छ । आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालेको विकृतिको घानमा नेपाली कांग्रेससमेत परेको बताउनुभयो । 

प्रवक्ता महतले केही ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भइरहेको भन्दैमा नेपाली कांग्रेस र राजनीतिक दलहरू नै सकिएको भन्ने मूल्याङ्कन गर्न नमिल्ने बताउनुभयो । उहाँले काठमाण्डाैमा राजनीतिक दलहरू स्वतन्त्र उम्मेदवारसामु निरीह बन्नु एमालेले सिर्जना गरेको विकृतिको प्रतिक्रिया भएको दाबी गर्नुभयाे । 

प्रवक्ता महतले भन्नुभयो, ‘अपवाद जहिल्यै हुन्छ चुनावमा । केही अपवादलाई लिएर पार्टीहरू, नेपाली कांग्रेस असफल भयो भन्ने कुरालाई निष्कर्ष मान्न सकिँदैन । युवाहरू किन असन्तोष छन् ? ती कुरामा कांग्रेसले सोच्नेछ । केही ठाउँमा अपवाद आउँदैमा नेपाली कांग्रेस र पार्टीहरू नै सकिए भन्न मिल्दैन । हामी यसबाट सिक्नेछौँ । कहिलेकाहीँ विभिन्न खालको हावा चल्छ, मानिसलाई केही गर्छ कि भन्ने चाहना हुन्छ । काठमाण्डाैमा पनि त्यही भएको हो । ओलीजीको घानमा नेपाली कांग्रेस परेको मात्रै हो । एमालेले सिर्जना गरेको विकृतिको प्रतिक्रिया स्वरूप हामीले पनि बेहाेरेका छौँ ।’

यसैबीच प्रवक्ता डा. प्रकाशशरण महतले पालिका चुनाव कांग्रेस र गठबन्धन दलहरूका लागि सन्तोषजनक रहेको बताउनुभएको छ । उहाँले पार्टी र गठबन्धनमा रहेका दलहरूका लागि चुनाव सन्तोषजनक रहेको बताउनुभएको हो । प्रवक्ता महतले तालमेल गरेर प्रतिस्पर्धा गरेका ठाउँमा गठबन्धनका दलहरूले ठूलो सफलता हात पारेको दाबी गर्नुभयो । 

प्रवक्ता महतले भन्नुभयो, ‘पालिका चुनावमा नेपाली कांग्रेसले धेरै ठूलो सफलता हात पारेको छ । तालमेलसहित हेर्ने हो भने सहयोगी दलहरूले पनि उल्लेख्य सफलता हासिल गरेका छन् । चुनाव स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न भएको छ । बरु एमालेको कार्यकालमा २०५४ सालकाे पालिका चुनावमा व्यापक धाँधली भएको थियो । त्यो बेला संसदीय समितिले समेत छानबिनको दायरामा ल्याएको थियो । एमालेले अहिलेकाे चुनाव धाँधली भयो, सत्तापक्षले स्रोत, साधनको दुरुपयोग गर्‍याे भन्ने कुरामा सत्यता छैन ।’

प्रवक्ता महतले एमालेकै केन्द्रीय नेताको नेतृत्वमा बाजुराको बूढीगङ्गा नगरपालिकामा व्यापक धाँधली भएको दाबी गर्नुभयो । उहाँले धाँधली भएका २, ३, ५ र ९ नम्बर वडामा एमालेले पूरै बुथ कब्जा गरेकोेले ती वडामा फेरि मतदान गर्न निर्वाचन आयोगसँग आग्रह गर्नुभयो । उहाँले उदयपुरको त्रियुगा नगरपालिकाको एउटा वडामा पनि धाँधली भएकोले तत्काल फेरि मतदानको व्यवस्था गर्न आयोगसँग आग्रह गर्नुभयो । 

प्रवक्ता महतले नेकपा एमालेले ९/१० वटा दलसँग गठबन्धन गरेर चुनावमा एक्लै लड्यौँ भनेर जनतामा भ्रम छरेको आरोप लगाउनुभयो । उहाँले नेपाली कांग्रेसले पालिका चुनावमा आएको मत परिणामलाई बलियाे बनाएर आउँदाे चुनावमा स्पष्ट बहुमत ल्याउने पनि बताउनुभयो । उहाँले गठबन्धनलाई सङ्घीय चुनावसम्म पनि सँगै लैजाने रणनीतिअनुसार नेपाली कांग्रेस अघि बढ्ने पनि बताउनुभयो । 

फरक प्रसङ्गमा प्रवक्ता महतले अन्तर्राष्ट्रियस्तरमै अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेकोले नेपालमा पनि स्वाभाविक रूपमा भाउ बढेकाे बताउनुभयो । उहाँले सरकारले जनस्तरलाई मध्यनजर गरेर अझै अन्तर्राष्ट्रियस्तरमा भएको मूल्यवृद्धिको पूर्णरूपमा नेपालमा मूल्य नबढाएको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया