बेत्रावती–रसुवागढी सुरुङ मार्गको काम अझै अघि बढेन

 जेठ १५, २०७९ आइतबार ८:५७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - गएकाे आर्थिक वर्ष २०७७/७८ को बजेटमा निर्माण प्रस्ताव गरिएको बेत्रावती–रसुवागढी सुरुङ मार्गको काम अझै अघि बढेको छैन ।

२०७६ जेठ १५ गते सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रममा सुरुङ मार्गको सम्भाव्यता अध्ययनको काम अघि बढाउने प्रस्ताव गरिएको थियो । तर अहिलेसम्म सामान्य छलफल गर्ने भन्दा अरु काम भएको छैन । चालु आर्थिक वर्ष २०७८/७९ का लागि पनि सरकारले यो कार्यक्रमलाई प्रस्ताव गरेको थियो । सडक मार्गका लागि २४ किलोमिटर सुरुङ बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । 

सुरुङ निर्माण हुने क्षेत्रको दुई ठाउँमा जमिन चिरा परेको योजनाले यसअघि गरेको  प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । निर्माणको लागि सम्झौता भएको बेत्रावती–रसुवागढी सुरुङको दूरी २४ किलोमिटरको हुने छ । 

नेपाल चीनबीच २० वटा विषयमा भएका द्विपक्षीय समझदारीमा सुरुङ निर्माण पनि परेको छ । गल्छी–रसुवागढी सडकको स्तरोन्नति कार्यको नेतृत्व लिइरहेको योजनाले प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो । त्यही प्रतिवेदनका आधारमा नेपाल–चीनबीच सुरुङ निर्माण सम्बन्धी सम्झौता हुने देखिएको थियो । 

एक किलोमिटर बराबर दुई अर्ब रुपयाँ खर्च हुने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । सुरुमा स्याफ्रुदेखि मैलुङसम्म सुरुङ निर्माण गर्ने योजना थियो । २०७६ असोजमा भएको द्विपक्षीय सम्झौता अनुसार बेत्रावतीदेखि रसुवागढीसम्म नै सुरुङ निर्माण गर्ने उल्लेख भयो  । 

नेपालमा अहिलेसम्म २४ किलोमिटर लामो सुरुङ निर्माण भएको छैन । यसको निर्माणका लागि योजनाले निरन्तर सहयोग र सहकार्य गर्ने छ । सुरुङ निर्माणको काम सुरु भए पनि सडकको स्तरोन्नतिको काम पनि निरन्तर सञ्चालन हुने योजनाले जनाएको छ । सुरुङ मार्ग निर्माण भएपछि द्विदेशीय व्यापारमा सहज हुने विश्वास लिइएको छ । 

बेत्रावती–रसुवागढी, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किलाेमिटर सडक छोटिने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । गल्छीदेखि रसुवागढीसम्मको सडक साँघुरो र लामो दूरीको छ । 
अन्तरदेशीय प्रसारण लाइन, केरुङ–काठमाण्डाै रेलमार्ग, केरुङ–काठमाण्डाै सुरुङ मार्ग प्राथमिकतामा परेका छन् । नीति तथा कार्यक्रममा योजनाहरू प्राथमिकतामा राखिए पनि काम भने न्यून हुने गरेको छ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया