अर्घाखाँचीकाे शीतगङ्गा नगरपालिकाले ८४ वर्ष पुगेका वृद्धवृद्धालाई २५ हजार रुपैयाँ दिने

 जेठ १५, २०७९ आइतबार १०:२९:२५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मान स्वरुप २५ हजार रुपैयाँ दिने भएको छ । 

शीतगङ्गा नगरपालिकाको प्रथम कार्यपालिकाको बैठकले नगरभित्र रहेका ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको मेयर छविलाल पौडेलले बताउनुभयो । उहाँले वृद्ध अवस्थामा हेरचाह गर्ने घरपरिवारको लागि पनि सहज होस् भनेर रकम उपलब्ध गराउने निर्णय गरिएको बताउनु भएको छ । 

प्रथम कार्यपालिकाको बैठकले नगरपालिका भित्र प्रयोग गर्ने गरी २ वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । सुत्केरी तथा गर्भवती महिला र विपन्न वर्गका मानिसलाई नि:शुल्क एम्बुलेन्स सञ्चालन हुनेछन् ।

अन्य व्यक्तिको लागि नि:शुल्क प्रयोग गर्निे गरी एम्बुलेन्स खरिद गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो । उहाँले नगरपलिका भित्र १२ कक्षासम्मको शिक्षा नि:शुल्क गर्ने समेत बैठकले निर्णय गरेको बताउनुभयो । खनालले ५ वर्षमा नगरपालिकाले प्राप्त गरेका उपलब्धिहरु सहितको कार्य विवरण जनप्रतिनिधहरुमाझ प्रस्तुत गर्नु भएको थियो। 

जिविस छदाकै करिब ५ करोड रुपैयाँ बेरुजु नगरमा देखिएको बताउँदै अहिले बेरुजु कम गराउन सबै कर्मचारी तथा जनप्रतिनिधिहरु समेत सजक रहेको बताउनुभयो । सधैँ आन्तरिक आम्दानीको ५ वर्षको अवस्था सार्वजनिक गर्दै खनालले आम्दानीका अन्यबाटो खोजेर नगरको आन्तरिक आम्दानी बढाउने बताउनु भयाे । 

टुक्रे योजनाले विकास निमार्णमा प्रगति गर्न नसकिएको बताउँदै आउँदाे वर्ष ५ लाख रुपैयाँभन्दा साना योजना निमार्ण नगर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया