न्यायालयकाे अवस्था सुधार हुँदै गइरहेकाे छ : कामु प्रधानन्यायाधीश कार्की

 जेठ १५, २०७९ आइतबार १५:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारो हुँदै गइरहेकाे बताउनुभएको छ । 

आज आइतवार नेपाल कानुन व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित सात दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्था पहिले भन्दा सुधार भएको बताउनुभयो । उहाँले आफुले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फर्स्याेट बढेको बताउनुभयो । 

कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयाे, ‘न्यायपालिका अहिले सुधार हुँदै गइरहेकाे छ । कानुन व्यवसायीको क्षेत्रबाट, न्यायाधीशको क्षेत्रबाट न्यायालय सुधार गर्नुपर्छ भनेर प्रतिबद्धताको साथ हामी आएका छौँ । मैले आफूले नेतृत्व लिदाँ सर्वोच्च अदालतको मुद्दाको फर्स्याेट आठ प्रतिशत थियो । अहिले त्याे बढेर १५ प्रतिशतसम्म पुगेकाे छ । त्यसमा उल्लेखनीय रूपमा पुराना मुद्दाहरू फैसला भएका छन् ।’

कामु प्रधानन्यायाधीश कार्कीले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताउनुभयो । उहाँले 'अटोमेशन' मा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै त्यसमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताउनुभयो । उहाँले अटोमेशनमा जानका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिसकिएकाले त्यसकाे प्रक्रिया छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया