तारा एअर विमान दुर्घटना : गोरखाका एकै परिवारका ४ जनाको ज्यान गयो, शोकमा डुब्यो गाउँ

 जेठ १६, २०७९ सोमबार १४:५१:६ | किरण लोहनी
unn.prixa.net

गोरखा – मुस्ताङमा तारा एअरको विमान दुर्घटना हुँदा गोरखाका एकै परिवारका चार जनाको ज्यान गएको छ । शहीद लखन गाउँपालिका ५ ताक्लुङको तीनमाने भञ्ज्याङ घर भएका ५२ वर्षका गणेशनारायण श्रेष्ठ, उहाँकी श्रीमती ४८ वर्षकी रश्मी, जेठी छोरी २३ वर्षकी रोजिना र कान्छी छोरी २० वर्षकी रविनाको ज्यान गएको हो । 

सुरक्षा निकायले उनीहरूको मृत्युको औपचारिक पुष्टि गरिसकेको छैन तर विमानमा यात्रा गरिरहेका कोही पनि जीवित नरहेको जानकारी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । काठमाण्डौमा सूचना प्रविधिसम्बन्धी सामग्रीको व्यवसाय गर्दै आउनुभएका श्रेष्ठ तारा एअरको नाइन एन एइटी ट्विनअटर विमानमा परिवारसहित जोमसोम जान लाग्नुभएको थियो । 

श्रेष्ठ दम्पती

गणेशनारायणका छोरा रोशनसहित दुवै छोरी अध्ययनका लागि अमेरिकामा थिए । छोरीहरू वैशाख ३० गते नेपाल आएका तीनमानेमा रहेका श्रेष्ठका छिमेकी विजय पुडासैनीले बताउनुभयो । जेठी छोरी रोजिना स्नातकोत्तर र विद्यावारिधि अध्ययनका लागि पाँच वर्षदेखि अमेरिकामा थिइन् भने कान्छी छोरी रविना नेपालमा ए–लेभलको अध्ययन सकेर थप अध्ययनका लागि गएको वर्षको भदौमा अमेरिका गएकी थिइन् । 

‘पालिका चुनावमा भोट हाल्न आउनेबारे कुरा हुँदा छोरीहरू दुई हप्ताका लागि नेपाल आउन लागेकाले मतदानमा आउन नसक्ने बताउनुभएको रहेछ’, पुडासैनीले भन्नुभयो, ‘सम्भव भएसम्म परिवारसहित आउँछु भन्नुभएको थियो ।’ 

श्रेष्ठ परिवारकाे घर

व्यावसायिक कामले काठमाण्डौ बस्दै आए पनि गाउँघरमा हुने विकासका काममा गणेशनारायणले सहयोग गर्दै आएको तीनमानेका श्रेष्ठ परिवारका छिमेकीहरूले बताएका छन् । स्थानीय जलदेवी माध्यमिक विद्यालयमा उहाँको एकल सहयोगमा कम्प्युटर ल्याब स्थापना भएको छ । यस्तै ताक्लुङकै चन्द्रकला प्रावि र दुर्गा प्राविका लागि पनि उहाँले विभिन्न सहयोग उपलब्ध गराउनुभएको श्रेष्ठका आफन्त केशर श्रेष्ठले बताउनुभयो । ‘काठमाण्डौ र गोरखामा बराबरी बस्छु भन्ने योजना थियो, भूकम्पले पुरानो घर भत्किएपछि नयाँ घर बनाउन थाल्नुभएको थियो, पहिलो तलाको काम सकिएर दोस्रो तलाको काम सुरु भएको थियो’, पुडासैनीले भन्नुभयो । 

आइतवार बिहानदेखि हराएको विमानमा बुबा, आमा र दुई बहिनीसमेत यात्रा गरिरहेको खबर पाएलगत्तै अमेरिकामै रहेका छोरा रोशन नेपाल आउने क्रममा रहेका पनि उहाँले जानकारी दिनुभयो । 

तीनमाने गाउँ

आफ्नो गाउँका एकै परिवारका चार जनाको ज्यान गएपछि तीनमाने भञ्ज्याङ गाउँ शोकमा डुबेको छ । आइतवार बिहान विमान हराएको र त्यसमा गणेशनारायण श्रेष्ठको परिवारका चार जनाले पनि यात्रा गरिरहेको खबर पाएपछि छिमेकीहरू चिन्तित रहेका वडाध्यक्ष यमबहादुर रानाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष रमेश थापामगर, वडाध्यक्ष राना, गणेशनारायणका आफन्त केशर श्रेष्ठ, छिमेकी विजय पुडासैनी जहाज दुर्घटनाबारे बुझ्न आइतवार दिउँसो पोखरा पुग्नुभएको थियो । सोमवार बिहान दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको र सबै यात्रीको ज्यान गएको खबर पोखरा पुगेको टोलीले पाएकाे थियो । तीनमाने भञ्ज्याङवासी जम्मा भएर गणेशनारायण श्रेष्ठ परिवारले गरेको समाजसेवाको कामको चर्चा गरेर बसेका वडाध्यक्ष रानाले जानकारी दिनुभयो । 

श्रेष्ठका परिवारको शव काठमाण्डौको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याउने जानकारी पाएपछि केही आफन्त र छिमेकी भने बिहानै काठमाण्डौ गएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया