‘निरङ्कुश’ एमालेले सजाय पाइसक्यो, बिच्किएका जनतालाई सम्हालेर अघि बढौँ : गगन थापा

 जेठ १६, २०७९ सोमबार १८:१५:५९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्षसम्म नेकपा एमाले नेतृत्वको सरकारले निरङ्कुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको आरोप लगाउनुभएकाे छ । 

नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न कांग्रेसले हेटौँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरीतका गतिविधि भएपछि आम जनता राजनीतिक दलप्रति नै बिच्किएको बताउनुभयाे ।

‘पछिल्लो समय तीनै तहको सरकारमा एमालेको नेतृत्व थियो । केन्द्र, प्रदेश र पालिका सरकारमा एमालेले नेतृत्व गर्‍याे । लामो समयपछि भएको पालिका चुनाव र स्थिर सरकार गठन भयो भनेर जनता आशावादी भएका थिए । तर तत्कालीन सरकार जनताप्रति जिम्मेवार नहुँदा जनताको आशा, निराशा र आक्रोशमा बदलियो । केपी ओलीले दुई पटकसम्म संसद् विघटन गर्नुभयो । संविधानमाथि नै प्रहार गर्नुभयो । नागरिकका अधिकार खुम्च्याउने प्रयास भयो । जसका कारण जनताको राजनीतिक दलप्रतिको धारणा नै गलत बन्दै गएको छ’, उहाँले भन्नुभयाे । 

महामन्त्री थापाले एमालेको निरङ्कुशताको सजाय जनताले पालिका चुनावमा उनीहरूलाई दिइसकेको बताउनुभयाे । ‘केही पालिकामा बाहेक केन्द्र, प्रदेश र पालिकामा अब एमालेको सरकार छैन । उनीहरूले सजाय पाइसके । अब आ–आफ्नो ठाउँबाट जनहितका जिम्मेवारी पूरा गर्ने अवसर हामीले पाएका छौँ । अब हामी एमालेलाई दोष दिएर बस्ने होइन, जनताको मनोभावनाअनुसार काम गर्ने हो’, उहाँले भन्नुभयाे । 

महामन्त्री थापाले उम्मेदवार दोहोर्‍याउने र मतदाताको मनोभावना विपरीतको उम्मेदवार पार्टीले अघि सार्दा नसोचेको ठाउँमा पराजय बेहाेर्नुपरेकाे बताउनुभयाे । ‘चाहे जुनसुकै राजनीतिक दलको होस्, अपवादबाहेक दोहोरिएका उम्मेदवार पराजित भएका छन् । जनताले आक्रोश व्यक्त गरेका छन्’, उहाँले भन्नुभयाे । 

महामन्त्री थापाले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एमालेको विरासत ढालेर उदाएको गठबन्धनले जनभावनाअनुसारकाे काम गर्नुपर्ने सुझाव दिनुभयाे ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया