मेलम्ची आयोजनाको पानी सुरुङमा पठाउन बन्द, अब बर्खापछि मात्रै सुरुङको ढोका खाेलिने

 जेठ १७, २०७९ मंगलबार १४:१०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउने काम बन्द गरिएको छ । आयोजनाको सुरुङ अन्तर्गत सिन्धुपाल्चोकको अम्बाथानमा रहेको मूल ढोका बन्द गरेसँगै काठमाण्डाैमा मेलम्चीबाट पानी आउन बन्द भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । 

पानी पर्ने क्रम बढेसँगै टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश गर्न थालेपछि आज मङ्गलवार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको उहाँले बताउनुभयो । गएको वर्ष असार १ गते सुरुङ बन्द गरिएको थियो भने त्यही दिन मेलम्ची खोलामा बाढी आएको थियो । यस पटक पनि बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समितिको तयारीअनुसार मौसम पूर्वानुमान महाशाखासँग समन्वय गरेर सुरुङ बन्द गरिएको पन्तले बताउनुभयो । 

सुरुङमा पानी पठाउन छाडेसँगै काठमाण्डौको महाङ्कालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । बन्द गरिएको सुरुङ मार्ग अब वर्खापछि मात्रै खोलिने र त्यसका लागि सम्भवतः कात्तिकसम्म पर्खनुपर्ने आयोजनाले जनाएको छ । 

गएको वर्ष बाढीका कारण मुहानमा क्षति पुगेपछि मर्मत गरेर गएको वैशाख ११ गतेदेखि पानी सुरुङ मार्गमा पठाइएको थियो । अस्थायी संरचना तयार पारेर पानी सुरुङमा पथान्तरण गरिएको हो । अहिले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन भइरहेको छ । अध्ययन प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको काम गर्ने र त्यो काम नहुञ्जेल बर्खामा बन्द गरेर हिउँदमा सुरुङमा पानी पठाउनु एक मात्र विकल्प भएको सूचना अधिकारी पन्तले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया