सुविधामा नभुली नागरिकको काम गर्न जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

 जेठ १८, २०७९ बुधबार १४:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पालिकामा निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रशिक्षण सुरु गरेको छ । काठमाण्डाैकाे कुमारी हलमा चलिरहेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायत नेता र विषय विज्ञहरूले प्रशिक्षण दिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माण लगायत विषय समेटिने उहाँले बताउनुभयो । भोलि बिहीवारसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखहरू सहभागी हुनुहुन्छ ।

प्रशिक्षण कार्यक्रममा अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एक/एक पालिका प्रमुखले अनुभव सुनाउने कार्यक्रम पनि राखिएको छ । प्रदेश नम्बर १ को थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, मधेसको बाग्मती नगरपालिकाका प्रमुख भरत थापा, बाग्मती प्रदेशको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, गण्डकीको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, लुम्बिनीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, कर्णालीको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसी र सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले आ–आफ्नो अनुभव प्रस्तुत गर्नुहुनेछ । गएको वर्ष सुशासनको क्षेत्रमा सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिका र लुम्बिनी प्रदेशको धुर्कोट गाउँपालिका शीर्ष पाँचभित्र परेका थिए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले पार्टीको महाधिवेशनले पारित गरेको दस्तावेज बोकेर त्यहीअनुसार काम गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभयो । सुविधामा नभुल्न भन्दै उहाँले जनप्रतिनिधिहरूलाई विकास र सुसासन अभिवृद्धिमा कटिबद्ध हुन आग्रह गर्नुभयो ।

यस्तै प्रचण्डले काठमाण्डौ, धरान लगायतका ठाउँमा स्वतन्त्र उम्मेदवारले जिते पनि यस्तो जित अपवाद मात्रै हुने बताउनुभयो । आउँदा वर्षहरूमा पनि चुनाव जित्ने र काम गर्ने दलहरूले नै हाे भन्दै उहाँले दल आफूले पनि नागरिकको मन जित्नुपर्ने बताउनुभयो ।

माओवादीले यसअघि २०७४ सालको चुनावमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो । यस पटक विगतभन्दा परिमार्जित ढङ्गबाट प्रशिक्षणको आयोजना गरिएको माओवादीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया