वाग्मती प्रदेश सभा बैठक अवरुद्ध : कर्मचारीलाई धम्की दिएकोबारे संसदीय छानबिन समिति गठन गर्न एमालेको माग

 जेठ १९, २०७९ बिहिबार १०:४०:५९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले दिने अनुदान रकम आफ्नालाई दिन मातहतका कर्मचारीलाई धम्की दिएको विषयमा छानबिनको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध गरिएको छ ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेमार्फत स्वकीय सचिव, मन्त्री र सचिव समेतले कर्मचारीलाई धम्की दिएको अडियो रेकर्डमा सुनेपछि त्यसको छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेको हो ।

बिहान प्रदेश सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि १० मिनेटको लागि बैठक स्थगित भएको छ । सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराउनुभयो । मुख्य सचेतक निरौलाले पशुपक्षी तथा मत्स्य विकास केन्द्रका ३ जना कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल काम नगरेकाले सरुवा गरेको भन्दै विरोध जनाउनुभयो ।

उहाँले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउन्जेल संसदमा अवरोध कायम राख्ने बताएपछि सभामुख श्रेष्ठले बैठक १० मिनेटको लागि स्थगित गर्नुभएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा पशु स्रोत केन्द्र निर्माणका लागि भनेर १ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएकोमा बङ्गुरको श्रोत केन्द्रका लागि धादिङको नमुना बङ्गुर फार्मलाई नै कार्यविधि विपरीत दिनका लागि मुख्यमन्त्री पाण्डे, पाण्डेका स्वकीय सचिव, कृषि मन्त्री र सचिवले निरन्तर दबाब दिएको खबर सार्वजनिक भएको थियो । मुख्यमन्त्री, मन्त्री र सचिवले भनेजस्तो नगरेपछि तीन जना कर्मचारीलाई कारबाहीस्वरुप सरुवा गरिएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया