२० वर्षपछि लालपुर्जा पाउँदा अर्घाखाँचीका नागरिक हर्षित

 जेठ २०, २०७९ शुक्रबार १०:३३:१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - २० वर्षपछि लालपुर्जा पाउँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१० धरम्पानीका  स्थानीयहरु हर्षित भएका छन्  ।

सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा नेकपा माओवादीले सदरमुकाममा आक्रमण गर्दा जलेर लाल पुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो ।

देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुन: नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो । जलेर नष्ट भएका  लालपुर्जा २० वर्षपछि पाउँदा स्थानीयहरु अत्यन्तै खुसी भएका छन् । 

विशेष नापी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिका १० को धरम्पानीमा जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको हो । लालपुर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर ऋण लिन नसकेका स्थानीयहरु लालपुर्जा पाएपछि खुशी भएका छन्  ।

जग्गा भएर पनि प्रमाण नभएकाहरुले लालपुर्जा पाउनु खुशीको कुरा भएको बताउँदै लालपुर्जा घरमा बाकसमा नराखेर बैंक तथा वित्तीय संस्थामार्फत ऋण निकाली व्यवसाय, कृषि लगायत क्षेत्रमा लगानी गर्न सन्धिखर्क १० का वडा अध्यक्ष मोहनसिंह ठकुरीले आग्रह गर्नुभयो ।

द्वन्द्वको समयमा नक्साविहीन भएको अर्घाखाँची जिल्लाका विभिन्न वडामा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरिएको विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख नापी अधिकृत डिल्लीराज भण्डारीले बताउनुभयो । उहाँले डिजिटल प्रविधिबाट निर्माण गरिएको लालपुर्जा जिल्लाका सबै वडामा निर्माण गरिने जानकारी दिनुभयाे । उहाँले धेरै वडामा नापी नक्साको काम सकिएको जानकारी दिनुभयो ।

काठमाण्डाै लगायत  तराईका जिल्लाहरुमा अहिलेसम्म पनि २०२० सालकै नाप नक्साबाट काम भइरहेका छन् । अहिले भएको नापनक्साबाट खर भए खर घर भए घर बाटो भए बाटो जस्तो छ त्यस्तै अवस्थामा पुर्जा वितरण भएको छ ।

जग्गाधनी प्रमाण पुर्जा वितरण भएकाले त्यस पुर्जालाई प्रयोगमा ल्याउन र अधिकतम फाइदा लिन सबै स्थानीयलाई निवर्तमान वडा अध्यक्ष लक्ष्मीनारायण चुदाँलीले आग्रह गर्नु भएकाे छ । 

माओवादीले सदरमुकाम आक्रमण गर्दा जलेर लाल पुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो । देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुन: नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेकाे हो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया