म्याग्दीका किसानलाई अनुदानमा उन्नत जातको मकैको बिउ वितरण

 जेठ २४, २०७९ मंगलबार १२:५८:३७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – खाद्यान्न बालीको सुरक्षा र उत्पादन वृद्धि गर्नका लागि म्याग्दीका किसानहरुलाई उन्नत जातको मकैको बिउ वितरण गरिएकाे छ। किसानलाई पालिकामार्फत ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको हो । 

चालु आर्थिक वर्ष २०७८/७९ को ससर्त खाद्यान्न बाली उन्नत बिउ उपयोगमा मूल्य अनुदान कार्यक्रमअन्तर्गत किसानहरुलाई अनुदानमा मकैको बिउ वितरण गरिएको पालिकाले जनाएका छन् । ग्रामीण भेगका किसान, कृषक समूह र कृषि सहकारी सङ्घसंस्थाको मागअनुसार  मकैको बिउ वितरण गरिएको छ । 

छ वटा पालिका रहेको म्याग्दीमा यसवर्ष बेनी नगरपालिका र पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाले किसानहरुलाई मकैको बिउ वितरण गरेका छन् । खाद्यसुरक्षा तथा खाद्यान्न बालीको उत्पादन वृद्धि गर्ने उद्देश्यले मकैको बिउ खरिद गरेर वितरण गरिएको बेनी नगरपालिकाको कृषि शाखाका प्रमुख आकृति ढुङ्गानाले बताउनुभयो । चितवनको रामपुरबाट अरुण–२ र मनकामना–३ नामक उन्नत जातको मकैको बिउ खरिद गरेर किसानलाई वितरण गरिएको छ । 

बेनी र मङ्गला गरी म्याग्दीका दुई पालिकामा मात्रै चालु वर्षमा बजेट र कार्यक्रम आएको हुँदा ससर्ततर्फ खाद्यान्न बाली उन्नत बिउ उपयोग मूल्य अनुदान कार्यक्रममार्फत किसानलाई अनुदानमा मकैको बिउ वितरण गरिएको जनाइएको छ । गएको फागुन, चैत र वैशाख महिनाको पहिलो हप्तासम्म किसानहरुको माग र आवश्यकताअनुसार मकैको बिउ उपलब्ध गराइएको कृषि शाखा प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । 

बेनी नगरपालिकामा मात्रै कुल ८ सय ६६ केजी मनकामना र अरुण जातको मकैको बिउ खरिद गरेर वितरण गरिएको बेनी नगरपालिकाको कृषि शाखाले जनाएको छ । बेनी नगरको विभिन्न वडामा उन्नत जातको मनकामना ४ सय ६८ केजी र अरुण ३ सय ९८ केजी मकैको बिउ वितरण भएको छ । कुल १० वटा वडा रहेको म्याग्दीको बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा बेनीबजारबाहेक अन्य ८ वटा वडामा सबैखाले कृषि उपजको उत्पादन हुँदै आएको छ । 

त्यस्तै पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाले भने मनकामना जातको ८ सय ६० केजी मकैको बिउ खरिद गरेर वितरण गरेको जनाएको छ । पालिका भित्रका कृषि कार्म तथा कृषि सहकारी र किसानहरुलाई मागको आधारमा बिउ खरिद गरेर वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक प्रशान्त पौडेलले जानकारी दिनुभयो। 

जिल्लाको बेनी नगरपालिकाभित्र रत्नेचौर, ज्यामरुककोट, पुलाचौर, सिङ्गा, घतान, पात्लेखेत, रघुगङ्गा गाउँपालिकाको राखुभगवती, पिप्ले, मङ्गलाको कुहुँ, बराङ्जा, अर्मन, मालिकाको निस्कोट, रुम, ओखरबोट, देवीस्थान, दरबाङ, विम, धवलागिरिको गूर्जा, लुलाङ, मुदी, मुना, मराङ, मल्कबाङ र ताकम क्षेत्र मकै उत्पादनको हिसाबले पकेट क्षेत्रका रुपमा चिनिएका छन्। 

अन्तिम अपडेट: चैत २८, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया