मन्त्रीहरूकाे शपथ ग्रहण भाेलिसम्ममा हुन्छ : मेटमणि चाैधरी

 जेठ २५, २०७९ बुधबार १४:१२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस हुनुभएका सांसद मेटमणि चौधरीले भाेलि बिहीवारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताउनुभएको छ । 

आज बुधवार प्रतिनिधि सभाको बैठकका लागि नयाँ बानेश्वरमा रहेकाे संसद् भवनमा पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा गरिसक्ने बताउनुभएको हो । उहाँले आज नै शपथ ग्रहण हुन सक्ने सम्भावना रहेको पनि बताउनुभयो । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पार्टीले निर्णय गर्‍याे । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर हामी पाँच दलीय गठबन्धनभित्रकै एउटा दल हो । हामीले शपथ ग्रहण गर्ने समय राख्दा जसपाका साथीहरूले पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनका लागि आफूहरूलाई केही समय चाहिन्छ भनेपछि केही समय ढिला मात्रै भएको हो । मन्त्री त सम्भवतः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने शपथ ग्रहण भोलि पक्कै हुन्छ ।’

सांसद चाैधरीले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकै पटक शपथ गराउनका लागि समय पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत हुनुभएको बताउनुभयो । 

यसैबीच उहाँले मन्त्रिपरिषद् हेरफेर गर्ने नेकपा (एकीकृत समाजवादी) को निर्णयलाई अपरिपक्व भन्न नमिल्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया