मेलम्ची खाेलामा गएराति आएकाे बाढीले अस्थायी पुलमा क्षति

 जेठ २६, २०७९ बिहिबार ९:२२:२ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खाेला आसपास क्षेत्र प्रभावित हुन थालेको छ। गएराति ठूलाे वर्षापछि मेलम्ची खाेलामा आएकाे बाढीले अस्थायी संरचनामा क्षति पुर्याएकाे छ । 

गएरातिको बाढीले मेलम्ची नगरपालिका-७ र ११ जाेड्ने फट्टेमा रहेकाे अस्थायी ह्युम पाइप कल्भर्टमा क्षति पुर्याएको हो । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । यातायात आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ ।

'गएरातिको वर्षाको कारण खाेलाको बहाव बढ्दा मेलम्ची बजारमा रहेको र फट्टेमा रहेको अस्थायी ह्युमपाइप कल्भर्टमा क्षति पुगेको छ । यातायात आवतजावतमा वैकल्पिक मार्ग प्रयोग गर्नु हुन सम्पूर्णमा अनुरोध छ' मेलम्ची नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले भन्नुभयो । 

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले फट्टेको ह्युमपाइप मर्मत गरेर एक हप्ता सञ्चालनमा ल्याइने बताउनु भयाे । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति नपुगेको तामाङले बताउनुभयो। 

फट्टे पुलमा क्षति पुग्दा पाँचपोखरी थाङ्पाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्चीका २ वटा वडाकाे आवतजावत प्रभावित भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया