त्रिविमा झन्डै ५ महिनादेखि ताला, ‘कस्तो उत्कृष्टताको केन्द्र बनाउन खोजेको हो ?’ : भीम रावल

 जेठ २६, २०७९ बिहिबार १७:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा झन्डै पाँच महिनादेखि ताला लागेको छ । विभिन्न माग राखेर विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले साढे चार महिनाभन्दा लामो समयदेखि ताला लगाएका छन् ।

अघिल्लो हप्ता नेकपा निकट अखिल क्रान्तिकारीले ताला फुटाए पनि अर्को दिन प्रहरीकै उपस्थितिमा नेविसङ्घले ताला लगाएको थियो । एउटा पक्षले ताला लगाउने र अर्काले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित छन् । नेविसङ्घले जनकपुरको युथ क्याम्पसलाई बीसीए कार्यक्रम सञ्चालनका लागि आफैँले दिएको सम्बन्धन आर्थिक लेनदेन नमिल्दा विश्वविद्यालयले खारेज गरिदिएको आरोप लगाएको छ भने आंशिक प्राध्यापक सङ्घले सेवा सुविधाको माग राखेको छ । तालबन्दीका कारण विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक गतिविधि ठप्प छ । 

यसैबीच सांसदहरूले पाँच महिनादेखि त्रिविमा ताला लाग्दा पनि सरकार चुप लागेर बसेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारले बजेटमा त्रिविलाई उत्कृष्टताको थलो बनाउने घोषणा गरे पनि पाँच महिनादेखि सत्तारूढ दलकै विद्यार्थी सङ्गठनले लगाएको ताला नखोलेर निर्लज्जता प्रदर्शन गरेको आरोप लगाएका छन् ।

आज बिहीवार प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै नेकपा एमालेका सांसद भीम रावलले एक सय ३९ दिनदेखि त्रिविमा ताला लाग्दा गृहमन्त्री र शिक्षामन्त्री जानकारविहीन भएजस्तो गरेर बसेको भन्दै आपत्ति जनाउनुभयो । 

‘गृहमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू, तपाईँलाई जानकारी छ ? बजेटमा भनेजस्तै त्रिविलाई उत्कृष्ट बनाउन लाग्नुभएको हो ? ताला लगाउनेलाई सुरक्षा दिन प्रहरी पुगेको प्रत्यक्षदर्शीको भनाइ छ, योभन्दा विडम्बना, योभन्दा गैरजिम्मेवारी, उच्च शिक्षाप्रतिको सरकारी खेलबाड योभन्दा अरू के हुन सक्छ ? एक सय ३९ दिनसम्म विश्वविद्यालय बन्द हुँदा सरकार रमिते बन्ने घटना संसारमा कतै देख्नुभएको छ ? यस्तो हुन्छ ? प्रधानमन्त्री र गृहमन्त्रीले तालाको रमिता हेर्ने अनि संसदमा आएर उत्कृष्टताको केन्द्र बनाउँछौँ भन्ने, क्या व्यङ्ग्य, आफूले आफैँलाई त्यसरी व्यङ्ग्य नहान्नुस् न ’, रावलले भन्नुभयो । 

यस्तै नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सङ्घीय शिक्षा ऐनको अभावमा विश्वविद्यालय र विद्यालयहरू अस्तव्यस्त बनिरहेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयमा सरकारकै संरक्षणमा तालाबन्दी गरिएको आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया