व्यवसायीलाई अप्ठ्याराे पार्न खोजेको होइन : अर्थमन्त्री

 जेठ २७, २०७९ शुक्रबार १९:४:० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्मा र पूर्वका उद्योगी, व्यवसायीबीच आउँदाे आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ । 

अर्थ मन्त्रालयमा आज शुक्रवार भएको भेटमा उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसङ्घको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९/८० को बजेटले वायर, घिउ/तेल र स्यानिटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए । 

त्यस क्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर देशभित्रै औद्योगिकीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताउनुभयो ।

‘बजेटमार्फत हाम्रो उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन’, उहाँले भन्नुभयो, ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।

महिलालाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको भए समाधान निकाल्न तयार रहेको अर्थमन्त्रीले जानकारी गराउनुभयो । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सिर्जना गर्नेलाई बजेटले सम्बोधन गरेको उहाँले बताउनुभयो । बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उहाँले प्रष्ट पार्नुभयो । 

छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष नबिन रिजालले सरकारी नीति आउँदा आत्मसात् गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो । व्यवसायीसँगको छलफलपछि अर्थमन्त्रीले समस्या भएका केही क्षेत्र र विषयका बारेमा सम्बोधन गर्न तयार रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया