चितवनमा निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमण बढ्दो, २६ महिनामा ३७ जनाकाे ज्यान गयाे

 जेठ २८, २०७९ शनिबार ८:५३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमणबाट २६ महिनामा ३७ जनाको ज्यान गएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा धेरै बाघको आक्रमणबाट १७ जनाको ज्यान गएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै जाँदा मानिसलाई आक्रमण गर्ने क्रम पनि बढेको छ । बाघपछि गैँडाको आक्रमणबाट आठ र हात्तीको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो तीन महिनायता बाघको आक्रमणबाट नौ जनाको ज्यान गएको छ । एउटा बाघलाई हिँडडुल गर्न झन्डै ४० किलोमिटर क्षेत्रफल आवश्यक पर्छ तर बाघको सङ्ख्या बढे पनि निकुञ्जको क्षेत्रफल बढ्न नसक्दा बाघ मानव बस्ती वरपरसम्म पुग्ने गरेको विज्ञको भनाइ छ ।

आउँदो बाघ दिवस जुलाई २९ मा सङ्ख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ९३ रहेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बाघको सङ्ख्या बढेका कारण मध्यवर्ती क्षेत्रलाई  वासस्थान बनाएकाले आक्रमणको घटना बढेको बताउनुहुन्छ ।

पछिल्लो पटक राप्ती नगरपालिका १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा) लाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते वाइबाको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यस क्षेत्रबाट बाघलाई 'डार्ट' गरेर हिजो बिहान नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । यो बाघलाई निकुञ्जको सौरहा क्षेत्रमा रहेको खोरमा राखिनेछ । यसअघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसराकाे खोरमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया