मकवानपुरगढी गाउँपालिका : कर्मचारीको मिलेमतोमा सामरी खोला दोहन

 जेठ २८, २०७९ शनिबार १३:३७:३८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरगढी गाउँपालिका कार्यालयका कर्मचारीको मिलेमतोमा सामरी खोलाको ठाउँ–ठाउँमा दोहन गर्न सुरु गरिएको छ । असार नजिकिएसँगै बिहानको झिसमिसेदेखि बेलुकी अबेरसम्म खोला खन्न थालिएको हो । 

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ मा पर्ने सामरी खोलामा वर्षाैँदेखि नवीकरणसमेत नभएका क्रसर र बालुवा उद्योगहरूले गएको वर्षकै ग्राभेल उत्खनन गरेको एक करोड रुपैयाँ बुझाउन बाँकी छ । पहिलेकै रकम बाँकी भइरहेको समयमा फेरि तीनै क्रसर उद्योगलाई पोस्ने गरी सामरी खोलामा बाढी आइरहेकै समयमा पनि एक्स्काभेटर लगाएर उत्खनन गरिएको स्थानीयवासीले गुनासो गरेका छन् । 

पैसा नतिर्ने क्रसर उद्योगलाई फेरि पनि पोस्ने गरी गाउँपालिकाका कर्मचारीले सेटिङ गरेर फेरि पनि खोलाबाट ग्राभेल उत्खनन गर्न दिइएको हो । मकवानपुरगढी गाउँपालिकाको सबै क्रसर र बालुवा उद्योगमा ग्राभेल भरिभराउ छ । त्यही पनि फेरि पैसा नतिर्ने क्रसर उद्योगले यो उत्खननका लागि भनेर १७ लाख रुपैयाँ गाउँपालिकाको खातामा जम्मा गरेको भन्दै अवैध तरिकाले उत्खनन गर्न दिइएको गाउँपालिकाका एक कर्मचारीले बताए । 

राजस्व शाखाका प्रमुख र हाकिमसमेतको मिलेमतोमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनलाई बेवास्ता गर्दै तोकिएभन्दा बडी गहिराइमा उत्खनन गरिएको हो । जेठ मसान्तसम्म खन्न पाइने नियमका कारण शुक्रवारदेखि खोला उत्खनन गरेर क्रसर उद्योगलाई ग्राभेल दिन सुरु गरिएको मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो । क्रसर उद्योगले तिर्न बाँकी रकम असार १५ गतेसम्म बुझाउने सहमतिअनुसार उत्खनन गर्न दिइएको उहाँको भनाइ छ । 

मकवानपुरगढी गाउँपालिका ५ को सिमल्टार, भालुखोला, वडा नम्बर ६ को बागदली लगायतका क्षेत्रमा चार वटा एक्स्काभेटरले उत्खनन गरेर क्रसर उद्योगमा लैजाने गरेको गाउँपालिकाका राजस्व शाखाका प्रमुख प्रकाश न्यौपानेले बताउनुभयो । गएको वर्षको पनि ग्राभेलको रकम नतिरिकन ग्राभेल उत्खनन गर्ने क्रसर उद्योगहरू आमभन्ज्याङ्ग एग्रिगेढ, साइबाबा क्रसर उद्योग, सामरी बालुवा उद्योग लगायतका रहेका छन् । 

जताजता क्रसर उद्योग, उतैउतै उत्खनन

जेठको अन्तिममा आएर सामरी खोलामा उत्खनन गर्दा धेरै ग्राभेल जम्मा भएको क्षेत्र भन्दा पनि जता क्रसर उद्योग छ, त्यतै अघिल्तिरबाट मात्र खोला उत्खनन गर्न दिइएको छ । ईआईए गरेको क्षेत्र, तोकिएको मापदण्डभन्दा पनि एक्स्काभेटरलाई खन्न क्रसर उद्योगले जता लगाइयो त्यतैबाट मात्र उत्खनन गरिएको प्रत्क्षदर्शीहरू बताउँछन् । क्रसर उद्योगलाई कहाँको खोला खन्दा सहज हुन्छ र ढुवानी गर्नका लागि सजिलो हुन्छ, त्यही नै उत्खनन गरिएको छ । 

सामरी खोलामा बाढी आएको समयमा खोला उत्खनन गर्दा झनै समस्या हुने र बाढी बस्तीमा पस्न सक्ने स्थानीयवासीले बताएका छन् । विशेषगरी वर्षायाममा खोला उत्खनन गर्न नदिने सङ्घीय सरकारको नीति छ । असार, साउन र भदौमा खोलामा बाढी आउने भएकाले उत्खनन गर्न नदिने भन्ने हो । तर, यस वर्ष जेठको २० गतेदेखि नै खोलामा बाढी आएको छ, । पानी दिनहुँ परिरहेको छ । तर, कर्मचारीलाई खोला खनेर क्रसर उद्योगलाई पोस्न पाएपछि खोलामा बाढी आएर जोखिम बढेकोमा कुनै वास्ता नभएको सामरी खोला आसपास क्षेत्रका नागरिकहरू बताउँछन्। 
दुई पटक ठेक्का नलागेपछि अमानतमा उत्खनन

मकवानपुरगढी गाउँपालिकाले खोला उत्खनन गरेर ग्राभेल बिक्रीका लागि भनेर दुई पटक आह्वान गरेको ठेक्का नलागेका कारण अमानतमा खोला उत्खनन गरिएको हो । उत्खनन गरिएको ग्राभेल एक्स्काभेटरले टिपरमा चुली लगाएर क्रसर उद्योग पुर्याउने गरिएको छ । टिपरको ढालासम्म मात्र टिपको हिसाबले ग्राभेल बिक्री गर्नुपर्ने भए पनि गाउँपालिकाका कर्मचारीको मिलेमतोमा चुली लगाएर उत्खनन गरिएको हो । 

खोलामा उत्खनन गरेर क्रसर उद्योगमा लगिएको ग्राभेल क्रसर उद्योगको सेटिङमा केही टिप्परको रसिदसमेत नकाट्ने गरिएको छ । यही हिसाबले उत्खनन गरिरहने हो भने क्रसर उद्योगले गाउँपालिकामा जम्मा गरिएको रकमभन्दा धेरैको उत्खनन हुने छ । 

क्रसर उद्योगले रसिद काटेको भन्दा धेरै टिप ग्राभेल उद्योगमा पुर्याइसकेका छन् । क्रसरले लिएको रसिद र उद्योगमा अहिले जम्मा भएको ग्राभेल नाप्दा पनि यो स्पष्ट देखिन्छ । अझ अहिले लगिएको ग्राभेल पनि पहिलेको ग्राभेलसँग मिसाएर क्रसरले तयारीबालुवा र ग्राभेल उत्पादन गरिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया