मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा विद्युत् उत्पादन बन्द, प्रसारण लाइन मर्मत गरिँदै

 जेठ २९, २०७९ आइतबार ७:६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहमा विद्युत् उत्पादन बन्द भएको छ । ती विद्युत् गृहमा आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् उत्पादन बन्द भएको हो ।

गएको वर्ष असार १९ गते आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द अर्थात सट डाउन गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन सट डाउन भएपछि विद्युत् गृहबाट विद्युत् उत्पादन बन्द हुनेछ । पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँमा रहेकाे ९ नम्बर टावर ढालेको थियो ।

प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) जडान गरी गएको वर्ष साउन २ गतेदेखि प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो । अहिले त्यहाँ नयाँ टावर निर्माण गरिएको छ । आज ईआरएस हटाइ नयाँ टावरमा तार टाँगिनेछ ।

झन्डै १ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्ने जनाएको छ । आज मध्यमर्स्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुनेछ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया