‘मेलम्ची आयाेजनाकाे सुरुङ जाेगाउन वर्षायामसम्म पानी ल्याउन बन्द गरिएकाे हाे’

 जेठ ३१, २०७९ मंगलबार १६:४३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – खानेपानी मन्त्री उमाकान्त चौधरीले अर्बाैँ रुपैयाँकाे लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाका लागि वर्षायामसम्मका लागि त्यहाँको पानी काठमाण्डाै उपत्यका ल्याउन बन्द गर्नुपरेको बताउनुभएको छ । 

प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले यस्तो स्पष्टीकरण दिनुभएको हो । उहाँले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव, विज्ञहरूबाट प्राप्त सूचना र सुझावको आधारमा आयोजनाको पानी काठमाण्डाै ल्याउन वर्षायामसम्मका लागि बन्द गरिएको जानकारी गराउनुभयो । 

उहाँले भन्नुभयाे, ‘अर्बाैँ रुपैयाँकाे लगानीमा बनेकाे सुरुङको सुरक्षाका लागि जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव, त्याे ठाउँमा जडित 'अर्ली वार्निङ सिस्टम' र विज्ञहरूबाट प्राप्त सूचना र सुझावको आधारमा योजना सञ्चालन वर्षायामसम्मका लागि बन्द गरिएको हो । वर्षायाममा सुरुङलाई थप क्षति हुनबाट बचाउन सकिएमा वर्षा सकिने बित्तिकै पानी सञ्चालन गर्न सकिने मन्त्रालयको योजना छ ।’

मन्त्री चौधरीले वर्षायाम सकिनेबित्तिकै आयोजनाको पानी काठमाण्डाै ल्याउने काम सुरु बताउनुभयो । यस अवधिमा काठमाण्डाैवासीलाई पानीको अभाव हुन नदिन बाग्मतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पथान्तरण गर्ने, केयूकेएल अन्तर्गतका बोरिङहरूको क्षमता बढाउने र अन्य स्रोतको उपयोग गर्ने कामहरू भइरहेको उहाँको भनाइ थियो । 

मन्त्री चौधरीले काठमाण्डाै उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट पानी आपूर्ति गर्न अध्ययन भइरहेको समेत बताउनुभयो । उहाँले काठमाण्डाै उपत्यकाको चक्रपथभित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पुर्‍याउनका लागि पाइपलाइन सञ्चाल विस्तारको काम भइरहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया