२७ वर्षदेखि भारतमा बेपत्ता किसानकाे लमजुङ प्रहरीको पहलमा उद्धार

 जेठ ३१, २०७९ मंगलबार २०:२५:४७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – २७ वर्षदेखि भारतमा बेपत्ता हुनुभएका लमजुङको राइनास नगरपालिका ८ तार्कुघाटका किसान परियारको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष पहलमा परियारको उद्धार गरिएको कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार परियार बेपत्ता भएपछि आफन्तहरूले आफैँ खाेजी गरे पनि प्रहरीमा भने उजुर गरेका थिएनन् । ‘तार्कुघाटका ४४ वर्षका किसान परियार २७ वर्ष अगाडि कामको सिलसिलामा भारत गइ बेपत्ता हुनुभएको थियो । लमजुङ प्रहरीको पहलमा उहाँकाे उद्धार गरिएको हाे’, उहाँले भन्नुभयो ।

बेपत्ता परियारको खोजीका लागि जेठ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालय लमजुङमा निवेदन प्राप्त भएको रेग्मीले बताउनुभयाे । प्राप्त निवेदनको विषयमा नेपाली राजदूतावास नयाँ दिल्ली, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्युरो काठमाण्डौ, दिल्ली प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललितपुर र परिवारसँगको आपसी सहयोग र समन्वयमा किसान परियारलाई उत्तर प्रदेशकाे वासपत जिल्ला मेहरमपुर गाउँबाट जेठ १८ गते उद्धार गरी नेपाल ल्याइ आफन्तको जिम्मा लगाइएको उहाँकाे भनाइ छ । 

रेग्मीका अनुसार परियारको स्वास्थ्य अवस्था सामान्य छ । दुई दशक बढी समयसम्म बेपत्ता भएका आफन्तलाई पाउँदा परियार परिवारमा खुसी छाएको छ । वर्षाैँपछि आफन्त भेट्न पाउँदा अत्यन्तै खुसी मिलेको परियारले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया