मनसुनमा पनि किन ठूलो मेघगर्जन र चट्याङ्ग ?

 असार १, २०७९ बुधबार ८:१२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार यी तीन प्रदेशका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ भने अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ । गएराति पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी परेको  थियो ।

मनसुनमा पनि प्रि-मनसुनको जस्तो मेघगर्जन भइरहेको छ । नेपालमा गएको जेठ २२ गते प्रदेश-१ हुँदै मनसुन भित्रिएको थियो । अहिले प्रदेश-१ सहित वाग्मती, गण्डकी र मधेस प्रदेशमा मनसुन सक्रिय छ ।

लुम्बिनी प्रदेशमा मनसुनको आंशिक प्रभाव परेको छ । नेपालमा मनसुनी वायुसँगै अन्य प्रणालीको पनि प्रभाव रहेकाले ठूलो मेघगर्जन भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार अहिले मनसुनी वायु, स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी रेखाको प्रभाव नेपालमा परेको छ ।

तीन वटै प्रणाली मिश्रित भएकाले ठूलो मेघगर्जन हुने खालका बादल विकसित भइरहेको उहाँले बताउनुभयो । देशभरी मनसुनी वायु सक्रिय भएको अहिलेको जस्तो ठूलो आवाजमा मेघगर्जन नहुने पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार मनसुनमा मेघगर्जन र चट्याङ्ग नै नपर्ने भन्ने होइन । तर अहिलेकोे जस्तो ठूलो मेघगर्जन पनि हुने होइन । सामान्य खालका मेघगर्जन र चट्याङ्ग मनसुनमा पनि पर्छ  मौसमविद् मानन्धरले भन्नुभयो ।

यसैबीच, ठूलो वर्षाको सम्भावना रहेकाले आज प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव र नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

खेतबारीमा काम गर्दा, खाेला तर्दा तथा यात्रामा निस्किँदा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका हुन् । यस्तै, पानी नपरेका ठाउँमा भने तापक्रम बढिरहेकाले गर्मीबाट जोगिने उपाय अपनाउन पनि मौसमविद्को सल्लाह छ। 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया