भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौँ : मेयर दाहाल

 असार १, २०७९ बुधबार १६:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभएको छ ।

नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले आज बुधवार भरतपुरमा आयोजना गरेको उद्यमशीलसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले यस्तो बताउनुभएको हो । उहाँले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गर्नुभयो ।

‘निजी क्षेत्रसँग सधैँ हातेमालो गर्न तयार छौँ’, उहाँले भन्नुभयो, ‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हुँदैन । निजी क्षेत्रसँग सहकार्य गर्न महानगर सधैँ सकारात्मक छ ।’ चितवनमा रहेका निजी क्षेत्रको सहकार्यमा लाइन्स चोकमा बहुउद्देश्य व्यापारिक भवन, नारायणी नदीमा पूर्वाधार विकासका कामहरू भइरहेका छन् ।

मेयर दाहालले चुनावकाे घोषणापत्रमा ‘मेड इन भरतपुर’ कार्यक्रमलाई प्रथामिकतामा राखिएकाले यस कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च चितवनले सहकार्य गर्न सक्ने उल्लेख गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले महानगरपालिकाले गर्ने आर्थिकसम्बन्धी कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चलाई समावेश गराइने बताउनुभयो ।

त्यस्तै उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने गरी सबै पक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष निर्देश सेढाईले उद्यमशिलताले मात्र देश विकास सम्भव रहेको बताउनु भयो ।

नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले युवा उद्यमीलाई विदेश जानबाट रोक्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै अधिकारीले युवा उद्यमीलाई स्वदेशमै रहन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वअध्यक्ष निरञ्जन न्यौपाने, दाताराम घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया