अब 'लाहुरे' लागुऔषधविरुद्धकाे अभियानमा

 असार ४, २०७९ शनिबार ९:२७:४७ | सागर राज तिमिल्सिना
unn.prixa.net

तस्बिर : रानाकाे फेसबुकबाट

कास्की – युवा माझ लोकप्रिय कलाकार हुन् र्‍यापर लाहुरे अर्थात् आशिष राना । उनलाई कास्की प्रहरीले केही महिना अगाडि लागुऔषध प्रयोग गर्दै गर्दा पक्राउ गर्‍याे । उनी ५६ दिन जेलमा बसेर छुटेका छन् । उनै लाहुरे अब भने लागुऔषधविरुद्धको अभियानमा निस्कने तरखरमा छन् ।  

नजिकै आउन लागेको अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसकाे अवसरमा लाहुरे अभियानमा अगाडि बढ्ने भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्ने कार्यक्रममा उनी अभियन्ताका रूपमा अगाडि देखिने छन् । असार ६ गतेदेखि पोखरामा विभिन्न ठाउँमा अभियान सञ्चालन हुनेछ ।

अहिले पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लागुऔषधविरुद्ध मुद्दाका धेरैजसाे कारोबारी नै भएका कास्की प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रमेश थापा बताउनुहुन्छ । लागुऔषध कारोबारीलाई हदैसम्म कारबाही र अन्जानमा फसेकालाई परामर्शबाट सुधार गर्ने प्रयासअनुसार नै कार्यक्रम गर्न लागेको उहाँकाे भनाइ छ । आशिष राना पनि यसको एक उदाहरण भएको उहाँले बताउनुभयाे । 

गएकाे पुस १४ गते लागुऔषध सेवनको अभियोगमा लाहुरे पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा लागुऔषधको दुर्व्यसनबाट मुक्त हुने वातावरण पाएको उनको भनाइ छ । दुर्व्यसनले क्षणिक आनन्द दिए पनि त्योभन्दा धेरै दुःख, कष्ट दिने गरको लाहुरेले बताए । ‘शरीर र मन दुवै नियन्त्रण गरे दुर्व्यसन छोड्न सकिन्छ । शारीरिक रूपमा एक/दुई महिना गाह्रो भए पनि मेन्टल्ली भने जिन्दगीभरि नै कन्ट्रोल गरेर बस्नुपर्छ’, उनले भने । 

किशाेर बेलामा मन चन्चले हुने र विद्यार्थीहरू नराम्रो बाटोतिर लाग्ने लाहुरेकाे अनुभव छ । याे समयमा अविभावकहरूले आफ्ना छोराछोरीलाई धेरै सयम दिएर ख्याल राख्नुपर्ने उनी बताउँछन् ।

सप्ताहव्यापी कार्यक्रम असार ६ गते पोखरा सभा गृहमा साङ्गीतिक कार्यक्रमका साथ सुरु हुनेछ । असार ७ गते कास्कीमा रहेका पुनर्स्थापना केन्द्रहरूसँग अन्तर्क्रिया, ८ गते औषधि बिक्रेतासँग छलफल, ९ गते विभिन्न स्कुल र कलेजमा विद्यार्थीसँग सचेतना, १० गते सञ्चारमाध्यमका विज्ञसँग छलफल, ११ गते समुदायमा भेटघाट र १२ गते अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा पोखरामा साइकल र्‍याली गरी समापन हुनेछ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया