एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित

 असार ५, २०७९ आइतबार ११:१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित हुनु भएको छ ।

अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएको थियो । तर, रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उहाँ बैठकमा अनुपस्थित हुनुभयो ।

समिति सभापति पवित्रा निरौला खरेलका अनुसार प्रधानमन्त्री देउवा हिजोसम्म आउने भने पनि बिहान उहाँको सचिवालयबाट बैठकमा आउन नसक्ने जानकारी गराइएको थियो । अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा विवाद उत्पन्न भएपछि जवाफ दिन समितिले प्रधानमन्त्री देउवालाई बोलाएको थियो ।

प्रधानमन्त्री बैठकमा नगएर संसदीय समितिलाई अपमान गरेको खरेलले बताउनुभयो ।  यसअघि अस्ति शुक्रवारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

अस्ति समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग पनि छलफल गरेको थियो । उहाँहरुले एसपीपी नेपालको हितमा नरहेको भन्दै यसमा सम्झौता नगर्ने बताउनु भएको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया