सगरमाथा आधार शिविर सार्ने तयारी

 असार ५, २०७९ आइतबार १३:४८:३० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - विश्व तापमान वृद्धि र मानवीय गतिविधिका कारण असुरक्षा बढेको भन्दै नेपालले सगरमाथा आधार शिविर अर्को ठाउँमा निर्धारण गर्ने तयारी गरिरहेको छ ।

अहिले खुम्बु हिमनदीकै छेउमा आधार शिविर छ । तर हिमनदी तीव्र गतिमा पातलिँदै गइरहेकाले आधार शिविर अहिलेकाे भन्दा २ सयदेखि ४ सय मिटर तल सार्ने तयारी भइरहेको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले जानकारी दिनुभयाे । 

उहाँका अनुसार अहिलेको आधार शिविरभन्दा केही तल बाह्रैमास हिउँ नहुने ठाउँमा नयाँ आधार शिविर राखिनेछ । अहिले सगरमाथाको आधार शिविर ५ हजार ३ सय ६४ मिटर उचाइमा छ । पर्वतारोहण गर्ने याममा आधार शिविरमा झन्डै १ हजार ५ सय जना भेला हुन्छन् । जसका कारण तापमानमा वृद्धि हुन गइ त्यहाँको हिउँ बढी मात्रामा पग्लिने भएकाले आधार शिविर हिउँ नहुने ठाउँमा सार्ने तयारी भइरहेको पर्यटन विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हिउँ पग्लेर बन्ने पानीले हिमनदीलाई अस्थिर बनाएको अनुसन्धानकर्ताहरू बताउँछन् । जसका कारण आरोहीहरु सुतेका बेला “खर्पास“ (खाल्टो) पर्ने क्रम बढेको पाइएको पर्वतारोहीहरुले बताएका छन् ।

सगरमाथा क्षेत्रमा हुने आरोहण सहजीकरण तथा निरीक्षणका लागि गठित एउटा सरकारी समितिको सिफारिसपछि यो तयारी थालिएको पर्यटन विभागले जनाएको छ। 

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया