खाना पकाउने ग्यासमा छिट्टै दुई थरी मूल्य तोकिने

 असार ६, २०७९ सोमबार १९:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्या एलपी ग्यासमा छिट्टै दुई थरी मूल्य तोक्ने बताउनुभएको छ ।

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन आज सोमवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले आयल निगमले छिट्टै ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य तोकेर जाने बताउनुभयो । 

औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने पनि कार्यकारी निर्देशक थानीको भनाइ छ । उहाँले ग्यासमा दोहोरो मूल्य कायम गर्नका लागि गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्यसहितको समितिले अध्ययन गरिरहेको जानकारी दिनुभयो । 

कार्यकारी निर्देशक थानीले अर्थ मन्त्रालयले आयल निगमलाई पठाएको पत्रअनुसार चालु आर्थिक वर्षसम्मका लागि पूर्वाधार करमा १० रुपैयाँ कर घटाएको बताउनुभयो । उहाँले अर्थ मन्त्रालयको पत्रअनुसार नै निगमको सञ्चालक समितिले इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको बताउनुभयो । अहिले पनि निगम मासिक चार अर्ब रुपैयाँ घाटामा गइरहेको उहाँको भनाइ छ । उहाँले अब आईओसीसँग खरिद गरेको मूल्यमा कर थप गरी आउने लागत मूल्यमै इन्धन बिक्री गरिने बताउनुभयो । 

कार्यकारी निर्देशक थानीले पेट्रोल अहिले पनि प्रतिलिटर १३ रुपैयाँ ५८ पैस, डिजलमा १३ रुपैयाँ ९५ पैसा र ग्यासमा प्रतिसिलिन्डर सात सय १५ रुपैयाँ घाटा रहेको बताउनुभयो । २०७१ सालदेखि नै परल मूल्य (किनेको मूल्य) मा बिक्री गर्न पाएको भए यति ठूलो घाटा नहुने उहाँको भनाइ छ । 

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक थानीले आयल निगमले जेठ महिनामा आइतवार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गर्नुभयो । थानीले चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर रहेकोमा वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको तर जेठमा घटेर ५९ हजार किलोलिटरमा झरेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया