इन्धनको मूल्यवृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने व्यवसायीको चेतावनी

 असार ७, २०७९ मंगलबार ९:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्माण व्यवसायीले सरकारले इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने चेतावनी दिएका छन् ।

इन्धनमा सरकारले पछिल्लो पटक गरेको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको समेत भाउ बढेर निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

निर्माण व्यवसायीलाई तत्काल राहत दिने गरी सरकारले मूल्य समायोजन निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्शन होलिडे’का बीच पनि देशभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना र अति आवश्यक निर्माण परियोजना समेत बन्द गरी यसअघि स्थगित आन्दोलनका कार्यक्रमसहित एक हप्ताभित्रै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने महासङ्घले चेतावनी दिएको छ ।

देशको समग्र अर्थतन्त्रका सूचक नकारात्मक रहेको विषम अवस्थामा पेट्रोलमा एकै पटक प्रतिलिटर २१ रुपैयाँ र डिजल तथा मट्टीतेलमा २७ रुपैयाँ बढाएर रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको नेपाल निर्माण व्यवसायी महासङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्यवृद्धिका कारण देशभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवम् अरु निर्माणका परियोजना पनि बन्द हुने स्थितिमा पुगेको महासङ्घका महासचिव रोशन दाहालले बताउनुभयो ।निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेको उहाँको भनाइ छ ।

निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर, जमिन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौँ निर्माण व्यवसायी, तिनका परिवार र तिनमा आश्रित लाखौँ श्रमिकको बिचल्ली हुने अवस्था आएको विज्ञप्तिमा उल्लेख छ ।  

पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरि तथा चुहावटको समस्या समाधान नगरेर केवल अन्तर्राष्ट्रिय मूल्यलाई देखाउँदै एकोहोरोरूपमा निर्माण व्यवसायीसहित उपभोक्ताको ढाड सेक्ने गरी भइरहेको मूल्यवृद्धिले देशको समग्र विकासमा नकारात्मक असर पर्ने महासङ्घको ठहर छ ।

महासङ्घले सरकारले बीमा निर्देशिका–२०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भइ बीमा कम्पनीलाई पोस्ने काम गरेको पनि जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया