‘प्रधानमन्त्रीले विदेश भ्रमण गर्दासमेत परामर्श नगर्ने, सबै कुरा गाेप्य राख्ने काम भइरहेकाे छ’

 असार ७, २०७९ मंगलबार १३:३७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहीनताको अवस्थामा रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुर्‍याएको दाबीसमेत गर्नुभयो । 

आज मङ्गलवार पूर्वराजदूतहरूको समूहले काठमाण्डाैमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दासमेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका गतिविधिहरूमा सरकार संलग्न भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरूबीच राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने अवस्थामा सरकारले त्यसो नगरिरहेको अध्यक्ष ओलीको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘यो सरकार बनेपछि संवाद नै छैन । अरूसँग कुनै परामर्श पनि नगर्ने र सबै कुरा गोप्य राखिने र प्रतिपक्षकाविरुद्ध जाने खालका कुराहरू प्रजातन्त्रमा हुँदैन । प्रधानमन्त्री बाहिर जानुभन्दा अगाडि त प्रतिपक्षसँग त परामर्श हुन्थ्यो नै । त्यो त अनिवार्य नै कुरा हो । प्रतिपक्ष भनेको एउटा वैकल्पिक सरकार हो । सरकारमा जानका लागि तयारी शक्ति हो भनेर मानिन्छ । त्योसँग त परामर्श गर्नुपर्छ नै । साथसाथै विज्ञहरूसँग परामर्श गर्ने हाम्रो चलन थियो ।’

अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको बताउनुभयो । लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतिको नयाँ व्याख्या गर्ने हाे भने प्रतिपक्षसँग परामर्श नगरि सरकार चलाए हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया