कागज अभाव र चुनावका कारण समयमै विद्यालयमा पुस्तक पुर्‍याउन सकेनाैँ : शिक्षा मन्त्री

 असार ७, २०७९ मंगलबार १६:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र पालिका चुनावका कारण समयमा विद्यालयहरूमा पुस्तक पुर्‍याउन नसकिएको बताउनुभएको छ ।  

आज मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बजारमा झन्डै १५ दिन कागज अभाव, पाकिल चुनावमा जनक शिक्षाका कर्मचारी खटाउनु र त्यही समयमा चुनावका लागि मतपत्र छपाइ भएकाले पुस्तक छाप्न ढिला भएको जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पुस्तक वितरण ढिलो हुनुमा १५ दिन कागज नआएको कुरा साँचो हो । भारतीय बजारमा कागज अभाव हुँदा यता समस्या भयो । त्यही समयमा पालिका चुनावमा जनक शिक्षा सामग्रीका कर्मचारी खटाइयो । त्यही समयमा मतपत्र छापियो । यही कारण पुस्तक छपाइमा ढिला भएको हो ।

मन्त्री पौडेलले सरकारले पुस्तक व्यवसायी र सरकारी तथ्याङ्कसमेत हेरेर पुस्तक वितरण गरिरहेको बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक अभावको विषयलाई सम्बोधन गर्न पाँच हजार नयाँ दरबन्दी थप्ने तयारी भए पनि अर्थ मन्त्रालयबाट स्वीकृत नभएको बताउनुभयो । शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर दरबन्दीको काम तीव्र रूपमा भइरहेको उहाँको भनाइ छ । 

त्यस्तै शिक्षा सचिव यादवप्रसाद कोइरालाले पुस्तक छपाइ प्रक्रियामा नै समस्या रहेको बताउनुभयो । उहाँले पाठ्यपुस्तक छाप्नका लागि भदौ महिनामा नै ऋण लिनुपर्ने र छपाइको काम गर्दा ब्याज बढेर दोब्बर हुने भएकाले पुस्तक छपाइको काम ढिलो भइरहेको दाबी गर्नुृभयो । सचिव कोइरालाले पाठ्यपुस्तकको मूल्य स्थिर राख्नका लागि सरकारले निजी क्षेत्रलाई छाप्न नदिएको बताउनुभयो । उहाँले सरकारले डेढ अर्बमा पाठ्यपुस्तक छपाइरहको तर निजी क्षेत्रलाई दिँदा सात अर्ब रुपैयाँमा पनि छपाउन नसक्ने बताउनुभयो । 

सचिव कोइरालाले सरकारले तत्काल पाठ्यपुस्तक खरिदमा सार्वजनिक खरिद प्रक्रिया छोटो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । शिक्षा ऐन नआएका कारण अनुगमनलगायतका काम नभएको नभइ १२ कक्षासम्म पालिकालाई जिम्मा दिँदा समस्या भएको उहाँको भनाइ छ । सचिव यादवले पाँच कक्षासम्म पालिकालाई र पाँच कक्षाभन्दा माथि केन्द्रलाई नै जिम्मा दिँदा शिक्षालाई गुणस्तर बनाउन सकिने दाबी गर्नुभयो । पालिका १२ कक्षासम्म जिम्मा दिँदा शिक्षामा गुणस्तर कमजोर बन्दै गएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया