रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डौ – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताउनुभएको छ ।
आज मङ्गलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरूले पनि शेयर बजार घट्नुमा राष्ट्र बैंकले लिएको ४/१२ को नीति भएको बताएका जानकारी दिनुभयो । उहाँले पुँजीगत लाभकरसमेत घटाउने विषयमा अर्थ मन्त्रीसँग छलफल भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले शेयर बजार घटेर लगानीकर्तालाई अप्ठेरो अवस्था सिर्जना हुनुमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ल्याएको मौद्रिक नीतिमा शेयर धितोकर्जामा ४/१२ को नीतिको कारण हो । विज्ञहरूले पनि त्यही भन्छन् । ४/१२ को नीतिका कारण बजारमा सेलर्स मार्केट क्रेट भयो ।’
अध्यक्ष हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र त्यो समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताउनुभयो ।
अध्यक्ष हमालले विश्वका अन्य देशमा शेयर लगानीकर्ता आन्दोलन गर्दै सडकमा नआउने भन्दै नेपालमा यस्तो अवस्था आउनु दुःखद भएको बताउनुभयो । उहाँले आउँदो आर्थिक वर्षदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि कारोबार रोकिने अवस्था हटाइने बताउनुभयो ।
अध्यक्ष हमालले लगानीकर्ताको सबै माग पूरा गर्न सम्भव नभएको बताउँदै कतिपय माग बोर्डको अधिकार क्षेत्रबाहिरको भएको उल्लेख गर्नुभयो ।
मौद्रिक नीतिमा शेयर खरिद गर्नका लागि एउटा बैंकबाट चार करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा पाउने व्यवस्था गरिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।