काठमाण्डौमा थप २ जनामा हैजा पुष्टि, प्रकोप फैलिने जोखिम रहेकाले खानपानमा ध्यान दिन डाक्टरको सुझाव

 असार ८, २०७९ बुधबार ७:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।

यसअघि काठमाण्डौ बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाण्डौको बागबजार क्षेत्रको नमूना संकलन गरिरहेको छ । बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमूना संकलन भइरहेको हो । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाण्डौमा हैजा फैलन सक्ने जोखिम बढेको बताउनुभयो ।

छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम  मानिने अर्का सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाले बताउनुभयो । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ । तारन्तार चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांशपेशी बाउँडिने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् । यस्ता लक्षण देखिना साथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जानु पर्ने डाक्टर बताउँछन् ।

प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खाने कुरा खान सकिन्छ । डाक्टरका अनुसार हैजा लागेको बिरामीको समयमा नै उपचार नभए ज्यान जाने खतरा हुन्छ । बर्खाको समयमा हैजालगायतका सुरुवा रोगको जोखिम उच्च हुने भएकाले खानपानमा ध्यान दिन डाक्टरको सुझाव छ । उमालेको वा शुद्धीकरण गरिएको पानी मात्रै पिउन र स्वस्थ खानेकुरा खान डाक्टरको सल्लाह छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया