‘आयात बराबरकाे विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलङ्काकै अवस्थामा पुग्न सक्छ’

 असार ८, २०७९ बुधबार १८:२३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलङ्काकै अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएकाे छ । 

आज बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्यधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलङ्काकै अवस्थामा पुग्ने बताउनुभएको हो । उहाँले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै देशकाे अर्थतन्त्र लयमा आउने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विदेशीका नेपालीबाट रेमिट्यान्स आएकाे छ अनि त्यही पैसाले आयात गरेका छौँ । उत्पादन छैन, नेपालमा भएको डलर पनि सिध्याउँदै जान्छौँ । आयात बराबर डलर आउने माध्यम बनाउन सक्नुपर्‍याे नि ? त्यसकारण हामी सबै सतर्क रह्याैँ भने अर्थतन्त्रलाई ठाउँमा नै राख्न सक्छौँ । जनताले दुःख गरेर ल्याएको सम्पति बैंक तथा वित्तीय क्षेत्रलाई जिम्मा दिएका छन् । त्यसलाई हामीले सही सदुपयोग गरेर आन्तरिक उत्पादन बढाउनतिर लगाउनुपर्‍याे । त्यो गरियो भने दैनिक आयात गरेर खानुपर्ने समस्या अन्त्य हुन्छ । तर यस्ता कुरालाई ध्यान दिएनाैँ भने नेपालकाे अवस्था पनि श्रीलङ्काकाे जस्तै हुन सक्छ ।’

गनर्भर अधिकारीले मौद्रिक नीति जादुको छडी नभएको बताउनुभयो ।मौद्रिक नीति राष्ट्र बैंकको उद्देश्यअनुसार सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याइने उहाँकाे भनाइ छ । गभर्नर अधिकारीले कोभिडको समयमा मौद्रिक नीति सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याउन चुनौतीपूर्ण भए पनि राष्ट्र बैंकले सबैका मागलाई सम्बोधन गरेको बताउनुभयो । 

गभर्नर अधिकारीले गएकाे वर्षको मौद्रिक नीति अर्थतन्त्रलाई स्थायित्व दिनका लागि ल्याए पनि केही क्षेत्रमा असर परेको स्वीकार गर्नुभयो । उहाँले मौद्रिक नीति बनाउँदा वा कुनै काम गर्दा सुधार गर्ने कुरा छोड्यो भने समस्या आउने भन्दै मौद्रिक नीति सुधार भएर आउने सङ्केत गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया