नेकपा एसकाे बैठक : मन्त्री हेरफेरकाे विषय तत्काल टुङ्ग्याउन नेताहरूकाे दबाब

 असार ९, २०७९ बिहिबार १६:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्ग्याउन दबाब दिएका छन् । आज बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको २७ औँ बैठकमा नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्गो लगाउन दबाब दिएका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधवार र बिहीवार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रवार हुने पोलिटब्युरो, शनिवार हुने केन्द्रीय कमिटी तथा असार १३ र १४ गते हुने केन्द्रीय परिषद्को बैठकका एजेन्डाका बारेमा छलफल गरेको बताउनुभयो । उहाँले त्यो बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको जानकारी दिनुभयो । 

उहाँले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरूले त्यसले पार्टीका कार्यकर्तामा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।

उपमहासचिव तुलाधरले भन्नुभयो, ‘सचिवालयको २६ औँ बैठकले निर्णय गरेर स्थायी कमिटीको १२ औँ बैकठले अनुमोदन गरेको मन्त्री हेरफेरसम्बन्धी निर्णयमाथि पनि छलफल भएको छ । बैठकमा धेरैजसो नेताले स्थायी कमिटी र सचिवालयले गरेका निर्णय लागू हुँदैन ? भनेर प्रश्न गर्नुभयो । नेताहरूले पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटो भन्दा छिटो मन्त्रीमण्डल हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्छ भन्ने बताएका छन् ।’

उहाँले गठबन्धनको औचित्य नसकिएकोले आउँदो चुनावमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएकोसमेत बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया