मन्त्री पद र पैसाको लोभ छैन : कृष्णकुमार श्रेष्ठ

 असार १३, २०७९ सोमबार १०:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - निःवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहने र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताउनुभएको छ ।

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भए पनि त्यो सत्य नभएको दाबी गर्नुभयो । श्रेष्ठले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले आफू अहिले पनि मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नचाहिने हल्लाहरु फिँजाइएका छन् । कुर्सीमा टाँसिरहनका लागि कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे मन्त्रीहरु भनेर पनि आक्षेप आएको छ । लोकतान्त्रिक पद्धतिमा हामीले बजेट पेस गरिसकेपछि बजेटको माननीयहरुले सोध्ने प्रश्नको उत्तर पनि दिन पाउँ भन्नेमात्रै हाम्रो कुरा हो । यहाँ त लौ टाँसिनलाई पार्टी छोड्छ रे, मन्त्री छोड्नै लागेको छैन रे, प्रधानमन्त्रीलाई प्रेसर रे, यो केही होइन । मन्त्रीपदमा टाँसिरहनु, मन्त्री भएर पैसा कमाउनु, त्यस्तो मेरो लोभ लालच छैन।’

निःवर्तमान श्रममन्त्री श्रेष्ठले प्रतिनिधि सभा र राष्ट्रिय सभामा मन्त्रीले बोलिसकेपछि प्रतिप्रश्न गर्ने र असन्तुष्टि जाहेर गर्ने कुरा आफूमा लागू नभएकोले पनि सबै काम राम्रो गरेको प्रमाणित भएको दाबी गर्नुभयो ।

उहाँले पार्टीकै अर्का मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा आफूलाई नै नम्बर दिएकोप्रति लक्षित गर्दै आफूले गरेको कामको नम्बर जनताले दिने बताउनु भयो । निःवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले हिजाे पत्रकार सम्मेलन गर्दै आफूले गरेका काममा ९० अङ्क दिनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया