सप्तकाेशीमा पानीको बहाव बढ्यो : नदीमा डुङ्गा चलाउन र दाउरा झिक्न रोक

 असार १४, २०७९ मंगलबार १३:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएकोे हो ।

नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ । साथै सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ । प्रशासनले नदीको बहाव बढ्दो क्रममा देखिए पनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको जनाएको छ ।

कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमवारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टा यता भने बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोशी नदीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख २६ हजार ५ सय ५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ ।

ब्यारेजका १६ ढोका खोलिएका छन् । नदीको बहाव बढ्दो क्रममा रहे पनि सबै तटबन्ध तथा स्परहरु सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाँले कहीँकतै कटानको खबर नरहेको जानकारी दिनुभयो । प्रजिअ यादवले तटीय क्षेत्रका बासिन्दालाई भने शतर्कता अपनाउन आग्रह गरिएको बताउनु भयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया