छिटाे–छिटाे मन्त्री फेर्नु राम्राे हाेइन : दीनानाथ शर्मा

 असार १४, २०७९ मंगलबार १४:५८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दीनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताउनुभएको छ । 

आज मङ्गलवार काठमाण्डाैमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो बताउनुभएको हो । उहाँले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताउनुभयो । 

शर्माले भन्नुभयो, ‘अहिलेको राष्ट्रिय राजनीतिमा मन्त्रीहरू फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तरङ्ग छ । एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाएको छ । छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन् । जनताले त्यसलाई राम्रो मानेका छैनन् । मन्त्री ३/६ महिनामा पालो पुर्‍याएर चलाउने पद्धतिलाई प्रोत्साहन गर्नु हुँदैन । यसलाई निरुत्साहित गर्नुपर्छ । मन्त्रीलाई राम्रोसँग एउटा कार्यकाल चलाउन दिनुपर्छ । सात महिनामा कुनै मन्त्रीले केही परिणाम दिन सक्दैन । यसले देशको विकास गर्दैन ।’

उहाँले नेकपा (माओवादी केन्द्र) मा भने मन्त्री हेरफेरसम्बन्धी कुनै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘हाम्रो पार्टीले अहिले हामीले पठाएका मन्त्रीहरू फेर्ने कुरा गरेका छैनौँ । हाम्रो त्यसबारेमा छलफलको एजेन्डा नै बनेको छैन ।’

केन्द्रीय सदस्य शर्माले आउँदाे चुनावसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरू लागिपरेको स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया