आज असार १५ : धान दिवस तथा दहीचिउरा खाएर मनाइँदै

 असार १५, २०७९ बुधबार ७:३०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज असार १५, धान दिवसका रुपमा मनाइँदैछ । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ ।

सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ ।

नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ । धानको उत्पादन बढे, कुल गार्हस्थ उत्पादन बढ्छ तर उत्पादन घटे घट्छ । तर किसानले बर्सेनि मलको समस्या भोग्दै आएका छन् ।

चालु आर्थिक वर्षका ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यसमध्ये ४५ अर्ब रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बीउ रहेको तथ्याङ्क छ । कृषि विभागले दिवसको मुख्य कार्यक्रम खुमलटारमा गर्दैछ ।

त्यस्तै पोखरा पर्यटन परिषद्को आयोजनामा हुँदै आएको रोपाइँ महोत्सव पोखरा महानगर–२५ हेम्जामा हुँदैछ । कृषि प्रधान देश नेपालमा धानको ठूलो महत्त्व छ । असार महिनामा मानो रोपेर मुरी उब्जाउने मान्यता छ ।

आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । युवा–युवती, रोपाहारले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि लिने गर्छन् । असारमा एक पटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली समाजमा रहेको छ ।

सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ का दिन दहीचिउराखाने संस्कृति रहिआएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ । दहीच्युराले शरीरमा शीतलता तथा शक्ति प्राप्त हुन्छ ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेकाले पनि आज दहीचिउराखाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरेका छन् । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया