फिनल्यान्ड र स्वीडेनलाई नेटो सदस्यताको बाटो खुला

 असार १५, २०७९ बुधबार १०:३९:२० | एजेन्सी
unn.prixa.net

स्वीडेन र फिनल्यान्डलाई नेटो सदस्यताको बाटो खुलेको छ ।

नेटो सदस्य देश टर्कीले यो सङ्गठनमा सदस्यताका लागि स्वीडेन र फिनल्यान्डलाई समर्थन जनाएको छ । यसअघि स्वीडेन र फिनल्यान्डले कुर्दिश लडाकुलाई संरक्षण गर्न चाहेको देखिएपछि सदस्यताका लागि टर्की असहमत थियो ।

टर्कीको समर्थन विना स्वीडेन र फिनल्यान्ड नेटोमा आबद्ध हुन नसक्ने अवस्था थियो । फिनल्यान्डले सुरक्षामा हुने खतराविरुद्ध एक अर्कालाई पूर्ण सहयोग गर्नेबारे संयुक्त ज्ञापनपत्रमा हस्ताक्षर गरेको छ ।

टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनको कार्यालयले स्वीडेन र फिनल्यान्डबाट आफ्नो माग पूरा भएको बताएको छ । त्यस्तै स्वीडेनकी प्रधानमन्त्री माग्डालेना एन्डरसनले यो नेटोका निम्ति निकै महत्त्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।

रुसले नेटो सदस्यतालाई लिएर विरोध गर्दै आएको छ । यही विषयलाई लिएर रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेनमा रुसको आक्रमणको प्रतिक्रिया स्वरूप गएको मे महिनामा यी दुई देशले नेटोमा सामेल हुने इच्छा व्यक्त गरेका थिए ।

कुनै पनि देश नेटोमा सामेल हुन सबै ३० सदस्यले अनुमोदन गर्नुपर्ने हुन्छ । स्वीडेन र फिनल्यान्ड नेटो सदस्य भए भने स्वीडेनको दुई सय वर्षभन्दा लामो असंलग्नताको नीति अन्त हुनेछ । दोस्रो विश्वयुद्धमा सोभियत सङ्घको हारपछि फिनल्यान्डले पनि तटस्थता अपनाएको थियो ।

फिनल्यान्ड नेटोमा सामेल हुने कुरामा वर्षौँदेखि झन्डै २० देखि २५ प्रतिशत नागरिकको समर्थन थियो । तर रुसले युक्रेनमा आक्रमण गरेपछि भएको पछिल्लो जनमत सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस विषयमा समर्थन जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया