वाग्मतीमा मुख्यमन्त्री फेरबदलको दौडधुप : पाण्डे सजिलै नछाड्ने पक्षमा, बानियाँ दबाब बढाउँदै

 असार १७, २०७९ शुक्रबार १०:४५:३५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पद छोड्न दबाब बढ्दै गएको छ ।

सत्तारुढ गठबन्धनमा वाग्मती प्रदेश सरकारको आधा–आधा कार्यकाल नेकपा एकीकृत समाजवादी र कांग्रेसले नेतृत्व गर्ने पूर्वसहमति भएको भन्दै मुख्यमन्त्री परिवर्तनको लागि दौडधुप सुरु भएको हो । तर आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट पास गरेर ढुक्क बनेका मुख्यमन्त्री पाण्डे अब हुने सङ्घ र प्रदेशको चुनावसम्ममा मुख्यमन्त्री छोड्न तयार हुनुहुन्न ।

पाण्डेले केन्द्रलाई ताकेता गर्दै मुख्यमन्त्रीमा निरन्तरता दिन खोजेपछि कांग्रेस र माओवादीले पनि दबाब दिन थालेका छन् । प्रदेश सरकारको आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट बिहीवार संसदबाट बहुमतले पारित भएसँगै कांग्रेसले सहमति कार्यान्वयन गर्न पाण्डेमाथि दबाब दिन थालेको छ । 

वाग्मतीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ । गठबन्धनको मूल स्पिरिट कायम रहने गरी अबको कदम तय हुने मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ ।

वाग्मती प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्ट रहेको माओवादी केन्द्रका सांसदहरु यही मौकामा पाण्डेलाई मुख्यमन्त्रीबाट हटाउन तयार छन् । कांग्रेसमा पनि बहालवाला मन्त्रीबाहेक अरु सांसदहरु मुख्यमन्त्री पाण्डेलाई फेर्नुपर्ने अडानमा छन् । हिजो बजेट पास भएपछि कांग्रेस र माओवादी केन्द्रले प्रदेश प्रमुखलाई बुझाउन मिल्नेगरी सांसदसँग हस्ताक्षर सङ्कलन गरिसकेका छन्।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता समेत रहेका पाण्डे गएको कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको चर्चा छ । सत्तारुढ गठबन्धनका प्रदेश स्तरका नेताहरु बसेर गरेको लिखित सहमतिअनुसार आफूले मुख्यमन्त्रीमा दाबी गरेको बानियाँको भनाइ छ । गठबन्धनमा भएको सहमतिअनुसार छिट्टै आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुने उहाँको दाबी छ । 

प्रदेश सभाबाट बजेट पारित भएसँगै शीर्ष नेतृत्वसँग छलफल गर्न पाण्डे र बानियाँ दुवै काठमाण्डौ आउनु भएको छ । दलहरुका बीचमा सरकार परिवर्तन नभइ मुख्यमन्त्री परिवर्तनका विषयमा छलफल भइरहेको नेकपा माओवादी केन्द्रका पूर्व मन्त्री तथा प्रदेश सभाका सदस्य युवराज दुलालले बताउनुभएको छ । आपसी छलफलबाट मुख्यमन्त्री परिवर्तन हुने उहाँको भनाइ छ । 

गठबन्धनका एकजना सांसदका अनुसार बुधवार कांग्रेसको २२ र माओवादीको २३ सांसदको हस्ताक्षर सङ्कलन भएको छ र पाण्डेले सहजै बाटो खुल्ला नगरे सरकारमा रहेका आफ्ना दलका मन्त्रीहरूलाई फिर्ता बोलाउने समेत निर्णय भएको छ । ती सांसदका अनुसार अझै २/३ दिन पाण्डेलाई समय दिने र त्यसपछि आवश्यक प्रकृयामा जाने तयारी छ । 

वाग्मती प्रदेशमा मुख्यमन्त्री पाण्डेलाई हटाउँदा अर्को कुनै प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिनुपर्ने भएकाले यो विषय थप जटिल बन्ने देखिएको छ । वाग्मतीमा यसअघि पाण्डेलाई मुख्यमन्त्री दिँदा सत्ता गठबन्धनका केन्द्रस्तरका नेताहरुले भन्दा पनि प्रदेशस्तरका नेताहरुले आधा कार्यकाल बानियाँलाई दिने सहमति गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया