मिटरब्याज पीडितको गुनासो :  सिंहदरबारको कानैमा आएर भन्दा पनि कसैले सुनेन !

 असार १७, २०७९ शुक्रबार १३:२९:१२ | वैद्यनाथ पाैडेल
unn.prixa.net

नवलपरासी जिल्ला, सुस्ता गाउँपालिकाका – २ पनारा बजारका राम शुभक गुप्ताले २०६८ सालदेखि २०७० सालसम्म गाउँको जगदिश बानियाँ र सुनिल बानियाँसँग घरायसी कामकाजका लागि जग्गा धितो राखेर ४ लाख, २ लाख र १ लाख रुपैयाँ गरी ३ पटकमा ७ लाख रुपैयाँ ऋण लिनुभयो । 

यही बीचमा उहाँले जग्गा बेचेर ७ लाख रुपैयाँको सावाँ ब्याज गरेर १५ लाख १५ हजार रुपैयाँ तिर्नुभयो । तर, ७ लाखको १५ लाख रुपैयाँ तिरिसक्दा पनि बानियाँ दाजुभाइले ऋण चुक्ताको कागज दिएनन् । उहाँले पटक पटक तमसुक माग्दा अझै ३२ लाख रुपैयाँ तिर्न बाँकी छ भनेर बानियाँ दाजुभाइले भन्दा उहाँ एक पटक बेहोश समेत हुनुभयो । त्यस बेलादेखि आफू मुटु रोगी समेत भएको बताउने गुप्ता आश्चर्य मान्दै भन्नुहुन्छ, ‘७ लाख रुपैयाँको ४७ लाख रुपैयाँ त कहीँ पनि हुँदैन । डबल तिरिसक्दा पनि नसकिने यो कस्तो ऋण हो ?’

२०६८ सालमा उहाँले पहिलो पटक ४ लाख रुपैयाँ ऋण लिँदा उहाँलाई ८ लाख रुपैयाँको कागज गराइएको थियो । त्यसको २ वर्षपछि उहाँलाई ऋण तिर्न बानियाँ दाजुभाइले ताकेता गरे । उहाँको ऋण तिर्न सक्ने अवस्था नहुँदा उनीहरुले घर/जग्गा लिलाम गराइदिन्छु भनि धम्की दिए । 

घर/जग्गा लिलामी हुने डरले उहाँले सुनिल बानियाँसँग फेरि २० लाख रुपैयाँको कागज गर्नुभयो । यसरी उहाँको ७ लाख रुपैयाँको ऋण १५ लाख रुपैयाँ तिरिसक्दा पनि ४७ लाख रुपैयाँ पुग्यो । गुप्ता भन्नुहुन्छ, ‘जगदिश बानियाँले अब हामीबीच केही लेनदेन छैन भनेर कागज लेखेर दिएको छ । तर, पनि तमसुक भने दिएको छैन । अनि मेरो जग्गा पनि फुकुवा गरिदिएको छैन । यसको कारण के हो?’ 

आफू पीडित भएपछि उहाँले गाउँमा अरुहरुसँग पनि कुरा गर्न थाल्नुभयो । यसरी कुरा गर्दै जाँदा अरु थुप्रै मानिस बानियाँ परिवारबाट पीडित भएको पाइयो । कुरा हुँदै जाँदा प्रतापपुर र सुस्ता दुई गाउँका गरी ४/५ सय मानिस बानियाँ परिवारबाट पीडित भएको गाउँलेले जानकारी पाए । गाउँका धेरै मानिस पीडित भएको पाइएपछि यसका विरुद्धमा व्यक्तिगत लडाइँ भन्दा पनि सामूहिक लडाइँ लड्नुपर्छ भनेर एउटा समिति नै खडा भयो । जसको अध्यक्ष स्वयम् गुप्ता हुनुहुन्छ । 

यसका बारेमा उहाँहरुले गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, सम्पत्ति शुद्धीकरणदेखि मानव अधिकार आयोगसम्म उजुरी गरिसक्नु भएको छ । उहाँहरुले उजुरी गरेको ४ महिना भयो । तर, कतैबाट पनि समस्या समाधान नभएपछि मिटरब्याज पीडितहरु माइतीघर मण्डलामा १५ दिनदेखि धर्नामा बसेका छन् । अहिलेसम्म कुनै राजनीतिक दलका नेता, मन्त्री तथा अन्य कसैसँग पनि वार्ताको विषयमा कुरा भएको छैन। 

माइतीघर मण्डलाको धर्ना स्थलमा हुनुहुन्छ सुस्ता गाउँपालिका – ५ का अर्का मिटरब्याज पीडित राम शुभक मुसहर । उहाँले छोरालाई विदेश पठाउन सुनिल बानियाँसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिनु भएको थियो । १ लाख ५० हजार रुपैयाँका लागि उहाँले श्रीमतीको नाममा रहेको साढे तीन कट्ठा घडेरी ३ लाख रुपैयाँमा दृष्टिबन्धक राख्नुभएको हो। 

छोराले विदेशमा राम्रो काम गर्न नसकेपछि फर्किए । ऋणको रकम तिर्न साहुले ताकेता तथा धम्की दिए । २० जनाको परिवार रहेको शुभकले परिवारसँग सल्लाह गरेर दुई पटक गरी धितो बाहेकको जग्गा बेचेर ९ लाख रुपैयाँ तिर्नुभयो । तर पनि अझै ऋण चुक्ता नभएको भन्दै साहुले धितोको जग्गा पास गर्न उहाँलाई दबाब दिन छोडेनन् । केही सीप नलागेपछि उहाँले बन्धकी राखेको जग्गा पनि पास गरिदिनुभयो । त्यसको कति पैसा आयो भन्ने पनि उहाँलाई थाहा छैन । मुसहर भन्नुहुन्छ, ‘मैले त सही मात्र गरेको हो । कति पैसा आयो के भयो थाहा छैन । म भने सुकुम्वासी भएँ ।’

सुस्ता, प्रतापपुरका मिटरब्याज पीडित न्यायका लागि असार २ गतेदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन् । धर्नाका लागि भनेर ७० जना काठमाण्डौ आए पनि खाने बस्ने उचित व्यवस्था नहुँदा वृद्ध र महिला गरेर ४० जना भने गाउँ नै फर्किए । बाँकी ३० जनामा पनि ठाउँ नहुँदा १२/१५ जना मात्र धर्नास्थलमा उपस्थित हुने गरेका छन् । अहिलेसम्म उनीहरुको बस्ने, खाने व्यवस्थाका लागि कुनै पनि सङ्घसंस्थाले सहयोग गरेको छैन । 

उनीहरु आफूले ल्याएको खानेकुरा सकिएकोले अब भोकै बस्नुपर्ने हो कि भन्ने चिन्तामा छन् । गौशालामा रहेको पशुपतिको पार्किङ भएको जग्गामा पाल टाँगेर बसिरहेका छन् । 

सावाँ र ब्याज गरेर तोकिए भन्दा बढी तिरेको रकम फिर्ता गर्नुपर्ने तथा पीडित सबैको घरजग्गा फिर्ता गरिदिनुपर्ने उनीहरुको माग छ । तर, सिंहदरबारको काखमै आएर पीडा सुनाउँदा पनि सरकारले देखे, नदेखझैँ गरेको उनीहरुको गुनासो छ । पीडितहरुको गुनासो छ, ‘हाम्रो पीडा सिंहदरबारको कानमै आएर सुनाएका छाैँ, तर अझै कसैले सुनेको छैन ।’

गैरकानुनी काम

छोटो समयमा चलन चल्तीको ब्याज प्रक्रियाभन्दा अत्यधिक धेरै रकम असुलउपर गर्नु मिटर ब्याज हो । मिटरब्याज कुनै कागज विना मौखिक रुपले आफूखुशी तोकिने ब्याज हो । मिटरब्याज गैरकानुनीसमेत हो । 

मुलुकी देवानी संहिता २०७४ को लेनदेन सम्बन्धी व्यवहारको दफा ४७८ बमोजिम साहुले ऋणीसँग ब्याज लिन पाउने व्यवस्था गरेको छ । लेनदेन सम्बन्धी लिखित हुँदा लिखितमा ब्याज लिनेदिने कुरा उल्लेख भएमा लेखिए बमोजिम ब्याज लिन पाउने व्यवस्था गरेको छ । तर कानुनले ब्याज भने सावाँ रकमको वार्षिक १० प्रतिशतभन्दा बढी हुन नहुने स्पष्ट कानुनी व्यवस्था गरेको छ । 

कानुनले ब्याजको ब्याज लिन नपाउने व्यवस्था पनि गरेको छ । ऐन विपरीत साहुले ब्याजको पनि ब्याज लिएको रहेछ भने त्यस्तो रकम सावाँमा कट्टी हुने र सावाँ चुक्ता भइसकेको छ भने त्यस्तो ब्याज रकम ऋणीलाई फिर्ता गर्नुपर्ने व्यवस्था छ । 

कानुनले लेनदेन व्यवहारमा साहुले ऋणीबाट सावाँभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था पनि गरेको छ । 

प्रहरीमा मिटरब्याज पीडितको उजुरी बढ्दै गएपछि गृह मन्त्रालयले यस्तो काम नगर्न, नगराउन सचेत गराएको छ । ठूलो रकम ब्याज असुल गर्ने कार्य कानुन अनुसार दण्डनीय भएकाले त्यस्तो काम नगर्न नगराउन तथा गरेको पाइएमा कानुन अनुसार कारबाही हुने गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: साउन १८, २०७९

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया