ओजोन तहमा प्वाल पर्नुमा हाम्रो हात छैन् – प्रधानमन्त्री ओली

 जेठ २२, २०७५ मंगलबार १७:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको मुख्य कारक तत्व ओजोन तह पातलिँदै जानुमा नेपालको हात नभएको स्पष्ट पार्नु भएको छ ।

साथै उहाँले कार्वनजन्य वस्तु उत्पादन, तिनको बढ्दो प्रयोग र व्यवस्थापनको चुनौतीमा पाठ नसिकाउन पनि विकसित देशलाई चेतावनी दिनु भएको छ । मंगलबार ललितपुरमा ‘स्वच्छ वातावरण महाअभियान २०७५’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्लाष्टिकजस्ता नकुहिने वस्तुको उत्पादन र प्रयोगमा नेपाललाई दोष थोपार्ने काम मात्रै भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।

‘अन्तर्राष्ट्रियसभा सम्मेलनमा ठूल्ठूला धनी देशले हामीलाई अर्ति उपदेश दिन्छन, गाउँमा दुईटा दाउरा जोडेर हाँडीमा मकै भुट्दा दाउराको धुँवाले वातावरण बिग्रियो, कार्वन इमिसन भयो भनेर’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तिनीहरुले समुन्द्रमा फोहोर फालेर प्रदुषण गर्दा त्यसबाट बाफ बनेर जाने एसिडिक पानी र बादलले हाम्रा हिमालकोे हिउ पगालेर कालो बनाई दिएका छन् । फेरी हामीमाथि नै आरोप छ । वातावरण विग्रियो भनेर ।’

प्रधानमन्त्री ओलीले पृथ्वीको तीनभागमध्ये दुई भाग पानी रहेको समुन्द्रमा फोहोर फालेर प्रदुषण गर्ने नेपाली नभई धनी र विकसित देशले नागरिक भएको स्पष्ट पार्नुभयो । बरु उनीहरुले गरेको फोहोरले जलवायु परिवर्तन भएर नेपाललाई असर पारेको उहाँको भनाई छ ।

‘पृथ्वीको तीन तिहाईमध्ये दुई तिहाईमा समुन्द्र छ । जसमा फोहोर गरिदिएर स्माल आइल्याण्ड टापुयुक्त माल्दिभ्स जस्ता देशहरु डुब्न लागेका छन् । त्यतिमात्र होइन नेपालका हिमालमा पनि हिउ पग्लिदै गएको छ । यो हामीले गरेको होइन । हामीले ओजोन तहमा प्वाल पारेर जलवायु परिवर्तन निम्त्याएका होइनौँ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

वायुमण्डलमा सूर्य र पृथ्वीबीच एउटा तह छ, जसलाई ओजोन तह भनिन्छ । ओजोन तहले सूर्यबाट आउने किरणलाई आवश्यकता अनुसार पृथ्वीमा पठाउँछ । तर पछिल्लो समय अत्याधिक कार्बन उत्र्सजन जस्ता मानवीय गतिविधिका कारण ओजोन तहमा प्वाल पर्न थालेको वैज्ञानिकहरुको भनाई छ ।

यसले गर्दा पृथ्वीमा सूर्यका हानिकारक परावैजनी किरण पनि पनि सोझै आइदिन्छन । जसकारण पृथ्वीमा निकै धेरै गर्मी हुने, पानी नपर्ने, पानी परेपनि धेरै परिदिने, अत्याधिक तापक्रमका कारण हिमालको हिउ पग्लिने जस्ता समस्याहरु भइरहेका छन् । यस प्रक्रियालाई वैज्ञानिकहरुले ‘ग्लोबल वार्मिङ’ अर्थात जलवायु परिवर्तनको संज्ञा दिएका छन ।

वैज्ञानिकहरुले विकसित देशका उद्योग, कलकारखानाबाट निस्कने धुँवा तथा फोहोरले जलवायु परिवर्तन भएको र यसको सबैभन्दा बढी असर नेपाल जस्ता प्राकृतिक श्रोत साधन भएका देशमा परेको बताउँदै आएका छन् ।

तर पनि अमेरिका, रुस, चीन जस्ता देशले अत्याधिक कार्बन उत्सर्जन गर्ने उद्योग कलकारखाना, पेट्रोलियम पदार्थबाट चल्ने गाडी प्रयोगमा रोक लगाएका छैनन । तर उनीहरुले नेपाल जस्ता साना देशलाई धेरै कार्बन उत्सर्जन गर्ने वस्तुको प्रयोगमा रोक लगाउन भन्न थालेपछि प्रधानमन्त्री ओलीले मंगलबार विश्व वातावरण दिवसको दिन विकसित देशलाई जवाफ दिनु भएको हो ।

यद्यपि पछिल्ला वर्ष रुस र चीनले छिटोमा सन २०३० सम्ममा इन्धनबाट चल्ने गाडीलाई पूर्ण रुपमा रोक लगाएर विद्युतीय गाडी प्रयोग गर्ने घोषणा गर्दै आएका छन् । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया