चित्रले चिटिक्क काठमाण्डौका भित्ता (फोटो फिचर)
बैशाख १५, २०८१ शनिबार
लमजुङ – लमजुङका विभिन्न आयाेजना र केही ढुङ्गे धाराकाे खानेपानीमा इकोली भेटिएको छ । स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा गरेकाे खानेपानी नमुना परीक्षणका क्रममा इकोली भेटिएको कार्यालय प्रमुख अमर दवाडीले जानकारी दिनुभयो ।
जिल्लाका आठ पालिकामध्ये सात पालिकामा गरी एक सय २० वटाको नमुना परीक्षण गर्दा ९१ वटामा इकोली भेटिएको उहाँले बताउनुभयो । ‘पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ । परीक्षण गरिएकामध्ये ७६ प्रतिशत नमुनामा इकोली पाइयो’, उहाँले भन्नुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख दवाडीका अनुसार मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ नमुनामा परीक्षण गर्दा २० वटामा इकोली भेटिएको हो । सुन्दरबजार नगरपालिकामा ३९ नमुना परीक्षण गर्दा २७ वटामा इकोली भेटिएको छ । राइनास नगरपालिकामा आठ नमुना परीक्षण गर्दा ६ वटामा, बेसीशहर नगरपालिकामा २९ नमुना परीक्षण गर्दा २२ वटामा इकोली भेटिएको छ ।
यस्तै दोर्दी गाउँपालिकामा पाँच नमुना परीक्षण गर्दा चार वटामा, मस्र्याङ्दी गाउँपालिकामा परीक्षण गरिएको दुई वटै नमुनामा इकोली भेटिएको छ । क्वहोंलासोँथर गाउँपालिकामा १४ नमुना परीक्षण गर्दा १० वटामा इकोली भेटिएको छ ।
स्वास्थ्य कार्यालयले बर्खा लाग्नुभन्दा अगाडि, बर्खाको सुरुवातमै विभिन्न खानेपानी आयोजनाको सम्वन्धित उपभोक्ता समितको समन्वयमा खानेपानी नमुना सङ्कलन गर्ने, नमुना परीक्षण गर्ने र प्राप्त परिणामका आधारमा पानीको गुणस्तरका लागि पृष्ठपोषण पनि दिने गरेको उहाँले बताउनुभयो ।
बर्खाको समयमा किटजन्य तथा पानीजन्य सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउन उहाँको आग्रह छ । पानीजन्य सङ्क्रमणबाट जोगिन पानी शुद्धीकरण गरी पिउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत क्लोरिन वितरण भइरहेको र मात्रा मिलाएर खानेपानी ट्याङ्कीमा ‘क्लोरिनेशन’ गर्न उहाँले आग्रह गर्नुभएको छ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।